१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

पूर्वम्यादी मायाको हत्या : सशस्त्रका जवानले खोसेका थिए मोबाइल फोन



बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहार र १५ वर्षीया नेहा लुहार गाउँकै अरू दुईजना साथीहरुसँग मंगलबार बिहान घरबाट निस्किए। लुगा सिलाउन भनेर उनीहरु पञ्चेश्वर गाउँपालिका–३ कुलाउ गएका थिए। घरबाट कुलाउ पुग्न करिब डेढ घण्टा हिँड्नुपर्छ। माया र नेहाबीच फुपू भदैको नाता छ।

उनीहरुसँग बिहानै घरबाट लुगा सिकाउन निस्केका अन्य दुईजना बेलुका घर फर्किए। तर, माया र नेहा फर्किएनन्। कुलाउमै इष्टमित्र रहेकाले उनीहरु त्यतै बसेको परिवारले अनुमान गरे। 

तर बिहानसम्म पनि उनीहरु सम्पर्कमा नआएपछि परिवारले खोजी गर्न थाले। कुलाउमा रहेका इष्टमित्रलाई सम्पर्क गर्दा पनि उनीहरु नरहेको पाइयो। त्यसपछि परिवार र गाउँले माया र नेहालाई खोज्न जुटे। नेहालाई बुधबार दिउँसो गोठालाले पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगामा फेला पारे, त्यो पनि घाइते अवस्थामा।

त्यसपछि नेहाले मायाको घाँटी रेटर हत्या भइसकेको सुनाइन्। गाउँलेले घटनाबारे प्रहरीलाई खबर गरेपछि नेहाले भनेकै ठाउँमा मायाको शव भेटियो। मायाको शव शिवनाथ गाउँपालका–६ शिवनाथ मन्दिर नजिकै भेटिएको हो। घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

माया जवलपुर माध्यमिक विद्यालय सैलोडामा कक्षा १२ र नेहा कक्षा ९ मा अध्ययनरत थिए। माया म्यादी प्रहरी पनि थिइन्। घरबाट लुगा सिलाउन भनेर निस्किएकी माया कहिल्यै नफर्किने गरी अस्ताएकी छन्। घाइते नेहाको अहिले उपचार भइरहेको छ।

स्थानीयले घटनामा शिवनाथ गाउँपालिका–६ सोलपालाका एकजना शसस्त्र प्रहरी जवानमाथि शंका गरेका छन्। ती शसस्त्र प्रहरीका जवान बिदामा घर आएका थिए। केही दिनअघि कुलाउमा उनले मायाको मोबाइल खोसेका थिए।

घरमा सोधीखोजी गर्दा मायाले मोबाइल ‘साथी’ले लगेकोसमेत बताएकी थिइन्। ती शसस्त्र प्रहरीका जवान अहिले फरार हुँदा उनीप्रति शंका बढेको पञ्चेश्वर गाउँपालिका–४ का वडाध्यक्ष जनकबहादुर चन्दले बताए।

‘केही दिनअगाडि मोबाइल खोसेका ती सशस्त्रका जवान अहिले फरार रहेकाले आशंका बढेर गएको छ,’ उनले भने।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले घटनास्थलमा जाँच प्रकृति मुचुल्काको काम सकेर शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको बताए।

‘घटनास्थलको जाँच अनुसन्धानको काम सकेर शव पोष्टमार्टमका लागि पठाएका छौँ, घटनाबारे थप बुझ्दैछौँ,’ उनले भने, ‘अहिलेसम्म कसैलाई नियन्त्रणमा लिएका छैनौँ।’


प्रतिक्रिया दिनुहोस !