८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

अर्जेन्टिना समूह विजेता, हारका बाबजुद पोल्यान्ड पनि अन्तिम–१६ मा



काठमाडौं । लियोनल मेसी पेनाल्टीमा गोल गर्न चुकेको खेलमा अर्जेन्टिनाले बुधबार राति पोल्यान्डलाई २–० ले हराउँदै कतार विश्वकपको अन्तिम–१६ मा स्थान पक्का गरेको छ । 

मेसीले ३९औँ मिनेटमा पाएको पेनान्टी अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् । मेसीको प्रहारलाई पोल्यान्डका गोलकिपर वोइच चेजनीले बचाइदिएका थिए । जारी विश्वकपमा चेजनीले पेनाल्टी बचाएको यो दोस्रोपटक हो । यसअघि साउदी अरबविरुद्ध पनि चेजनीले सलिम अल दासरीको पेनाल्टी बचाइदिएका थिए । 

जित्नै पर्ने दबाबमा रहेको अर्जेन्टिनाले ४६औँ मिनेटमा एलेक्सिस म्याक–एलिस्टरको गोलबाट अग्रता लिएको थियो । ६७औँ मिनेटमा युलियन अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए । 

अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा ५ खेलाडी परिवर्तन गरेको थियो । अर्जेन्टिनाका प्रशिक्षक लियानल स्कालोनीले लाउटारो मार्टिनेजलाई बेन्चमा राखेर मेक्सिकोविरुद्ध गोल गरेका इन्जो फर्नान्डेजलाई पहिलो रोजाइमा राखेका थिए ।

जितसँगै अर्जेन्टिना समूह ‘सी’बाट विजेता बन्दै अन्तिम–१६ मा स्थान बनाउन सफल भयो । हारका बाबजुद पोल्यान्डले पनि अन्तिम–१६ मा स्थान पक्का गरेको छ । 

यस समूहमा अर्जेन्टिनाले ६ अंक जोडेको छ । पोल्यान्ड र मेक्सिकोको समान चार अंक भए पनि गोल अन्तरमा पोल्यान्ड अगाडि भएको हो । मेक्सिकोले आजै सम्पन्न खेलमा साउदी अरबलाई २–१ ले पराजित गरेको थियो । १९९४ यता लगातार अन्तिम–१६ मा स्थान बनाउन सफल मेक्सिको यसपटक भने समूह चरणबाट बाहिरिएको छ । 


प्रतिक्रिया दिनुहोस !