११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

विश्वकप लिग–२ः नामिबियासँग खेल्दै नेपाल, नयाँ नेतृत्वमा कस्तो होला प्रदर्शन ?



काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङखलाको पहिलो खेलमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।नामिबियाको युनाईटेड मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हनुेछ ।

एकदिवसीय मान्यता जोगाई राख्न नेपाललाई लिग २ मा १६ बाँकी मध्य १० भन्दा बढी खेल जित्दै शीर्ष पाँच भित्र अटाउनुपर्नेछ । जसअन्तर्गत यस सिरिजका धेरै खेलमा जित निकाल्ने दवाव नेपाललाई रहेको छ ।

नेपालले आयोजक नामिबिया र स्कटल्यान्डसँग समान दुई खेल खेल्नेछ । दोस्रो खेल नेपालले डिसेम्बर ४ मा स्कटल्यान्डसँग खेल्नेछ । लिग–२ मा यसअघि नेपालले चार महिना अगाडि नमिबिया र स्कटल्यान्सँगै चार खेलको श्रृङखला खेलेको थियो । जसमा एक खेल बाहेक सबैमा नेपालले हार बेहोर्यो ।

चार महिना पछि नेपाली राष्ट्रिय क्रिकेट टिममा धेरै परिवर्तन आएका छन् । नयाँ प्रशिक्षक र नयाँ कप्तानको नेतृत्वमा नेपाली टिमले यो श्रृङखला खेल्नेछ । गत असारमा सम्पन्न स्कटल्यान्ड भ्रमणमा अपेक्षित नतिजमा ल्याउन नसकेपछि तत्कालिन मुख्य प्रशिक्षक पुवुदु दशानायकेले प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिएर क्यानाडा फर्किएका थिए ।

त्यसको केहिसमयपछि नेपाल क्रिकेट संघ (क्यान)ले भारतिय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
यस्तै, सन्दीप लामिछाने बलत्कारमा आरोपमा पक्राउ परेपछि उनलाई क्यानले निलम्बन गर्दै उपकप्तान रोहित पौडेललाई कप्तानको जिम्मेवारी दिएको थियो ।

रोहितको कप्तानीमा घरेलु मैदानमा नेपालले युनाईटेड अरब इमिरेट्स(यूएई) सँग तीन खेलको एकदिवसीय श्रृङखला २–१ ले जित्यो । तर, घरेलु मैदानमा र विदेशमा नेपालको प्रदर्शन अनपेक्षित हुने गरेको छ । जसका कारण नेपाललाई यो श्रृङखला चुनौतिपूर्ण रहने छ ।

लिग–२ मा हालसम्म ३६ मध्य २० खेल खेलेको नेपालले ८ खेलमा मात्रै जित निकालेको छ । ११ खेल हारेको नेपालले १ बराबरीसहित १७ अंक जोडेको छ । जहाँ नेपाल छैठौं स्थानमा रहेको छ । नेपाललाई यतिबेला विश्वकप खेल्ने भन्दा पनि एकदिवसिय मान्यता गुम्न नदिने दवाव रहेको छ ।

लिग– २ अन्तर्गत नेपालले १६ खेल खेल्न बाँकी छ । ओडीआई मान्यता जोगाउन नेपालले अब १० भन्दा बढी खेल जित्नुपर्नेछ । अब बाँकी खेलमध्ये ८ खेल होमग्राउन्डमा र बाँकी ८ खेल विदेशी भूमिमा खेल्नेछ ।

विदेशमा खेल्ने आठ खेलमा ४ खेल पपुवा न्यूगिनी र चार खेल नामिबियामा हुनेछन् । यी दुवै राष्ट्र नेपालभन्दा कमजोर मानिन्छन् । तर, विदेशी भूमिमा नेपालको प्रदर्शन अनुमान लगाउन सकिँदैन । त्यसैले होमग्राउन्डमा हुने ८ खेलमा नेपालले अधिकतम जित निकाल्नुपर्ने हुन्छ ।

नेपालले घरेलु मैदानमा अहिलेसम्म चार खेलमात्रै खेलेको छ । जसमा दुई खेलमा जित निकालेको छ । सन् २०२० फेब्रुअरी ५ देखि १२ सम्म त्रिवि क्रिकेट मैदानमा भएको ओमान र अमेरिका सम्मिलित त्रिदेशीय श्रृङ्खलामा नेपालले दुई खेलमा अमेरिकालाई समान आठ विकेटले हराएको थियो । ओमानविरुद्ध भने १८ र ३५ रनले पराजित भएको थियो ।

नेपाली टिमः रोहित पौडेल(कप्तान), आसिफ शेख, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, सागर ढकाल, नन्दन यादव, गुलसन झा, हरिशंकर शाह र ललित राजवंशी


प्रतिक्रिया दिनुहोस !