१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

उपत्यकाका धेरैजसो सार्वजनिक सवारी प्रदूषण परीक्षणमा फेल



काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधनहरु प्रदूषण मापदण्डविपरीत गुडिरहेको पाइएको छ । शुक्रबार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागको टिमले सवारीको प्रदूषण परीक्षण गरेको थियो ।

परीक्षण गरेका अधिकांश सवारीसाधनहरु प्रदूषण परीक्षणमा फेल भएको पाइएको विभागले जनाएको छ । विभागले गरेको ५४ वटा सवारीसाधनको प्रदूषण परीक्षणमा ३८ वटा सवारीसाधन मापदण्ड विपरीतको यानित्र अवस्थामा गुडिरहेको भेटिएको हो ।

वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले प्रदूषण परीक्षणमा फेल हुनेहरुलाई मर्मत गरेर प्रदूषण पास हुने गरी चलाउन समय दिएको बताए । प्रदूषण फेल हुनेहरुले प्रदूषण परीक्षण गरी वातावरण विभागमा आएर पुनःपरीक्षण गराएर पास भएपछि मात्रै कागजपत्रहरु फिर्ता लैजान पाउने उनले बताए ।परीक्षण पास गर्न पठाएका सवारीहरु अर्को पटक पनि परीक्षण गर्दा फेल भएमा वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रुपैयाँसम्मको कारबाही गर्ने चेतावनी दिए ।

सवारी प्रदूषणसँगै ट्राफिक प्रहरीले यान्त्रिक अवस्था र कागजातपत्रको पनि चेकजाँच गरिरहेको छ । यातायात व्यवस्था कार्यविधिअनुसार अहिले पनि प्रत्येक भाडाका सवारीसाधनले ६/६ महिनामा सावारीको प्राविधिक जाँच गराउनुपर्छ ।

यातायात कार्यालयमै गएर गरिने त्यस्तो जाँचको अनिवार्य शर्त प्रदूषण जाँचको रिपोर्ट गरिएको छ । प्रत्येक ठूला तथा भाडाका सवारीले ६/६ महिनामा प्रदूषण जाँचको रिपोर्ट लिएर जानुपर्छ । त्यस्तै साना तथा मझौला साधनले १ वर्षमा एक पटक त्यस्तो जाँच गराउनुपर्छ । जसमा पनि प्रदूषण जाँचको रिपोर्ट अनिवार्य गरिएको छ । परीक्षण पास नहुन्जेलको लागि रुट इजाजत निलम्वन हुने, सवारीमा रहेका यात्रुहरुलाई अन्तिम बिन्दुसम्म पुर्‍याएपछि सवारी गुडाउन नपाउने, आवश्यक मर्मतसम्भार पश्चात पुनः प्रदूषण चेक जाँचको लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने प्रावधान छ ।


प्रतिक्रिया दिनुहोस !