१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

अनुसन्धानका लागि हेडक्वार्टर तानिए सशस्त्र प्रहरीका तीन एसपी



काठमाडौँ । आर्थिक अनियमितताको आशंकामा सशस्त्र प्रहरी बल (एपीएफ)का तीन जना उपरीक्षक (एसपी) अनुसन्धानका लागि हेडक्वार्टर तानिएका छन् । सशस्त्र प्रहरी बल मुख्यालयले १२ नम्बर गण हेडक्वार्टरका प्रमुख (गणपति) राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टरका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीका रुपकुमार क्षेत्रीलाई अनियमितता आरोपमा अनुसन्धान गर्न फिर्ता बोलाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो । तीनैजना एसपी सशस्त्रका सिसं २ का ब्याची हुन् ।

बारा र पर्साका केही बोर्डर आउट पोस्ट (बीओपी) इन्चार्जलाई पनि आन्तरिक अनुसन्धानका लागि फिर्ता बोलाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो । सशस्त्र प्रहरी मुख्यालयले एसपीद्वय टोपबहादुर डाँगी र उद्धव रावल नेतृत्वका दुई छुट्टाछुट्टै ‘मार्सल टोली’लाई तराईका विभिन्न जिल्लामा छड्केमा पठाएको थियो । सोही मार्सल टोलीको प्रतिवेदनका आधारमा सशस्त्रले तीन जना गणपतिलाई फिर्ता बोलाएर अनुसन्धान अघि बढाएको हो ।

सशस्त्रका बाहिनी र गणलाई समेत सुइँको नदिई हेडक्वार्टरबाट केही दिन अघिबाट एसपी नेतृत्वका दुई मार्सल टोली खटिएका थिए । सोही रिपोर्टका आधारमा मुख्यालयले शुक्रबार शंका लागेका अधिकृतहरुलाई फिर्ता हुन २४ घण्टे निर्देशन दिएको थियो । फिर्ता बोलाइएका अधिकृतमाथि विस्तृतरुपमा अनुसन्धान हुने र कसुर देखिए कानुनअनुसार कारबाही गरिने सशस्त्र प्रहरी स्रोतले बतायो ।


प्रतिक्रिया दिनुहोस !