१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सशस्त्रका कोलीले दुई दिनअघि म्यादी प्रेमिकाको मोबाइल खोसे, अर्को दिन बोलाएर ‘हत्या’



काठमाडौं । बैतडीमा म्यादी प्रहरी युवतीको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बलका एक जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतराम कोली छन् । उनी हाल कास्कीमा कार्यरत छन् ।

प्रहरीका अनुसार आरोपित कोलीलाई कञ्चनपुरबाट पक्राउ गरिएको हो । उनी यही मंसिर ७ गते घर बिदामा बैतडी गएका थिए । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको मंसिर १४ गते धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

उनीसँगै रहेकी १५ वर्षीया बालिका नेहा लुहार घाइते छिन् । उनको अहिले डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा घाइते नेहाको बयान लिएको थियो । उनकै बयानका आधारमा सशस्त्र प्रहरी जवानलाई पक्राउ गरिएको हो ।

माया र नेहा गएको मंगलबार बिहान करिब १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका–३, कुलाउमा लुगा सिलाउन भनी गएका थिए । तर, सशस्त्र प्रहरी जवानसँग भेटघाट गर्न उनीहरू शिवनाथ मन्दिर पुगेका थिए । त्यहाँ भेट्न कोलीले नै बोलाएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।

लुगा सिलाउन भनेर हिँडेकी उनी घर नफर्किएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए । खोजी गर्दै जाँदा बुधबार बेलुका माया मृत अवस्थामा फेला परेकी थिइन् । नेहा घाइते अवस्थामा भेटिएकी थिइन् ।

माया मंसिर ४ गते भएको निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना भएकी थिइन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार कोली र माया छिमेकी हुन् । उनीहरूबीच प्रेम सम्बन्ध थियो ।

“दुई दिन पहिल्यै कोलीले मायाको मोबाइल खोसेर लगेका रहेछन् । मायासँग अर्को मोबाइल थियो । उनले भेट्न बोलाए । माया साथीसँगै गइन्,” एक प्रहरी अधिकारीले बाह्रखरीसित भने, “शिवनाथ पुगेपछि माया र कोली केही पर गए भने उनकी साथी मन्दिरमै बसिन् । एक घण्टापछि आएका कोलीसँग माया नदेखेपछि नेहाले सोधेपछि उनीमाथि समेत छुरा प्रहार भएको रहेछ ।”

प्रेम सम्बन्धमा आएको अविश्वास र तिक्तताले घटना हत्यासम्म पुगेको हुन सक्ने प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !