१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

भारतीय पक्षले महाकाली नदीको धार परिवर्तन गर्न खोज्दा विवाद



धनगढी । दार्चुलामा भारतीय पक्षले महाकाली नदीको धार नेपालतर्फ फर्काएर तटबन्धन गर्न खोजेपछि विवाद भएको छ । जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने पुलको दक्षिण र उत्तरतर्फको भागमा भारतीय पक्षले पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध गर्न खोज्दा विवाद भएको स्थानीय प्रशासनले जनाएको छ ।

पुलको उत्तरतर्फ पर्ने क्षेत्रमा तटबन्ध गर्ने विषयमा दुवै पक्षका प्राविधिकको अध्ययनपछि मात्र काम थाल्ने मौखिक समझदारी विपरीत भारतीय पक्षले काम गरेपछि आइतबार खलंगा क्षेत्र तनावग्रस्त बनेको थियो । सो क्रममा ढुङ्गामुढा हानाहान समेत भएको थियो भने केहीबेर नाका समेत बन्द गरिएको थियो ।

सोही विषयलाई लिएर सोमबार बिहान पनि भारतीय पक्षले महाकाली पुलमाथि आवतजावतमा रोक लगाएको थियो तर अहिले दुवै पक्षबीच छलफल गर्ने समझदारीपछि आवागमन खुलेको छ ।

दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले भारतीय पक्षले पुलको उत्तरतर्फको भागमा तटबन्धन निर्माण गर्दा पानीको धार नेपालतर्फ फर्काउन खोज्दा विवाद भएको बताइन् ।भारतीय पक्षले नेपालतर्फ पानीको निकास गरेर तटबन्ध निर्माणको काम गछौँ भन्नुभएको थियो । हामीले दुवै पक्षका प्राविधिक समेतको संयुक्त बैठक बसेर के–कसरी अघि बढ्न सकिन्छ छलफल गरौँला भनेका थियौँ,’ साउदले अनलाइनखबरसँग भनिन्, ‘तर उहाँहरुले काम नरोकेपछि विवाद भएको हो । फेरि बैठक बसेर छलफल गर्ने समझदारी भएको छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी साउदका अनुसार अहिले नदीको उत्तरतर्फ तटबन्ध गर्ने काम रोकिएको छ । सकभर आजै नभए भोलिसम्म दुवै पक्षको बैठक बसेर विवाद निरुपण गर्ने समझदारी भएको उनले बताइन् । दक्षिणतर्फ भने खासै समस्या नपर्ने भएकाले तटबन्ध गर्न दिइएको स्थानीय प्रशासनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !