१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सुदूरपश्चिमको मुख्यमन्त्री बन्न आकांक्षीको काठमाडौँ दौड



धनगढीः प्रत्यक्षतर्फको बाजुराको मतपरिणाम सार्वजनिक भएसँगै नयाँ गठन हुने सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीका दाबेदार प्रदेश सभा सदस्यहरुको काठमाडौँ दौड सुरु भएको छ।प्रदेशमा सबै भन्दा बढी क्षेत्रमा विजयी भएको नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादी पार्टीका मुख्यमन्त्रीका आकाङ्क्षी काठमाडौँमा छन्। उनीहरुले दलको नेतासँगै प्रदेशको नेतृत्व दिन केन्द्रीय नेतृत्वसँग आग्रह गरिरहेका हुन्।

समाजवादीबाट प्रदेश सभामा विजयी भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले यतिबेला काठमाडौँमा छन्। उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललगायका नेताहरुलाई भेट्ने कार्यक्रम छ। ‘स्वाभाविक रुपमै मुख्यमन्त्रीको दावेदार हो। शिर्ष नेताहरुले के गर्छन ? कस्तो गठबन्धन हुन्छ ? हामीले यहीँ गठबन्धन अगाडि बढाउन भन्ने हो। शंका उपशंकाका कुराहरु पनि आउँदैछन्। राजनीति कसरी अगाडि बढ्छ ? त्यहीँ अनुरुप निर्णय होला नि।,” मन्त्री सोडारीले भने।

दलको नेताले प्रदेश सभा तथा प्रदेश सरकारको नेतृत्व गर्ने परिपाटी छ। त्यसैले प्रदेश सभामा विजयी मुख्यमन्त्रीका आकाङ्क्षी नेताहरु काठमाडौँ केन्द्रित भएका हुन्। उनीहरुले दलको नेतासँगै प्रदेश सरकारको नेतृत्व पनि मागिरहेका छन्। सुदूरपश्चिम प्रदेश सभामा कञ्चनपुरबाट विजयी भएका नेपाली काँग्रेसका नेता बहादुर थापा पनि काठमाडौँमा छन्। उनले भने, ‘गठबन्धन छ। नेताहरु बिच छलफल भएको छैन। प्रदेश कसले पाउने भन्ने कुरा हो। दलको नेताका लागि म सिनिय हो।’

सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सदस्य हुने व्यवस्था छ। प्रदेशमा ३२ प्रत्यक्ष र २१ सामानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। समानुपातिकको मतपरिणाम सार्वजनिक नभएका बेला प्रत्यक्षमा विजयी प्रदेश सभा सदस्यहरुको काठमाडौँ केन्द्रित दौड सुरु गरेका हुन्। उनीहरुले आफ्नो पार्टी तथा गठबन्धनका शिर्ष नेताहरुसँगको भेटघाट बढाएका हुन्।

सुदूरपश्चिम प्रदेश सरकार सञ्चालनका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्यहरुको समर्थन आवश्यक हुन्छ। सुदूरपश्चिममा नेपाली काँग्रेस, माओवादी केन्द्र तथा एकिकृत समाजवादीको नेतृत्वमा सरकार गठन हुने देखिएको हो। माओवादी केन्द्रको दलको नेताका रुपमा देखिएका प्रदेश सभा सदस्य खगराज भट्ट  भने काठमाडौँ गएका छैनन्। प्रदेशमा प्रत्यक्षतर्फ १२ सिट जित्दै नेपाली काँग्रेस ठुलो दल बनेको छ। माओवादीका ८, समाजवादीका ३ प्रदेश सभा सदस्य विजयी भएका छन। 

प्रदेश सभामा निर्वाचित भएका पार्टीका सिनियर नेताहरूले प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने गठबन्धनसँग माग गर्न शिर्ष नेताहरुलाई दबाब दिन थालेका छन। प्रदेशमा नेपाली काँग्रेस, एकीकृत समाजवादी र माओवादीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !