१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

लुम्बिनी प्रदेश सभामा १० दलको उपस्थिति रहने



बुटवल । लुम्बिनीको प्रदेश सभामा १० दलको उपस्थिति हुने भएको छ । २०७४ को पहिलो प्रदेश सभा निर्वाचनबाट प्रदेश सभामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा गरी ६ दल तथा हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहको उपस्थिति थियो ।

यसपटक प्रत्यक्षतर्फ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र जनमत पार्टी गरी ८ दलले चुनाव जितेका छन् । प्रत्यक्षमा नजिते पनि समानुपातिकतर्फ नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समेत कुल सदर मतको १.५ प्रतिशतको थ्रेसहोल्ड कटाएर एक एक सिट पाउने भएका छन् ।

नेकपा माओवादीबाट बागी उम्मेदवारी दिएर जितेका तीन जना सांसद स्वतन्त्र हैसियतमा छन् ।लुम्बिनी प्रदेशमा ३२ दलले चुनावमा भाग लिएका थिए । ३२ दलले प्राप्त गरेको १८ लाख ८७ हजार ७८ मत सदर भएकोमा १० वटा दलले १.५ प्रतिशत थ्रेसहोल्ड अर्थात २८ हजार ३०६ मत कटाएका छन् । लुम्बिनी प्रदेशसभामा समानुपातिक पद्धतिबाट ३५ सांसद चयन हुनेछन् । सबैभन्दा धेरै ५ लाख ७० हजार ९२१ मत पाएको नेकपा एमालेले ११ देखि १२ सिट पाउने अनुमान छ ।

४ लाख ९९ हजार ९८६ मत ल्याएको नेपाली कांग्रेसले ९ देखि १० सिट, १ लाख ९८ हजार ४५० मत पाएको माओवादी केन्द्रले ५ सिटसम्म पाउने अनुमान छ ।१ लाख २७ हजार ४५२ मत पाएर चौथो दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सीट,१ लाख २५ हजार ५५१ मतसहित पांचौं ठूलो दल बनेको नागरिक उन्मुक्ति पार्टीले पनि २ सिट पाउनेछ । निर्वाचन आयोगको तथ्यांक अनुसार डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ८१ हजार ६०५ मत पाएर छैठौं दल बन्दा समानुपातिकमा एक सिट पाउने छ । यस्तै ६० हजार ८८६ मत पाएको जनता समाजवादी पार्टीले पनि समानुपातिकमा एउटा सिट पाउने छ ।

४२ हजार ६२१ मत पाएको नेकपा एकीकृत समाजवादी, ३७ हजार ६३१ मत पाएको लोकतान्त्रिक समाजवादी पार्टी र ३२ हजार ६४७ मत पाएको राष्ट्रिय जनमोर्चाले पनि एक–एक सिट पाउने छन् ।

प्रदेश सभाको प्रत्यक्षतर्फ १८ सिट जितेर नेकपा एमाले नै पहिलो बनेको छ । कांग्रेसले १७, माओवादी केन्द्रले ५, राप्रपा, जसपा, लोसपा र नागरिक उन्म्ुक्ति पार्टीले २–२ सिट, जनमत पार्टीले एक सिट र माओवादीका बागी (स्वतन्त्र) उम्मेदवारले तीन सिट जितेका छन् ।

समानुपातिक समेत दलहरुको सम्भावित सिट

नेकपा एमाले- ३०
नेपाली कांग्रेस- २६
नेकपा माओवादी- १०
राप्रपा- ४
नागरिक उन्मुक्ति पार्टी- ४
जनमत पार्टी- २
जसपा- ३
लोसपा- ३
एकीकृत समाजवादी- १
राष्ट्रिय जनमोर्चा- १
स्वतन्त्र- ३


प्रतिक्रिया दिनुहोस !