१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

रविका मान्छेले सिध्याइदिने धम्की दिएको भन्दै युवराजको हारगुहार



काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व सञ्चारकर्मी रवि लामिछानेको नागरिकता छानविनको माग गर्दै उजुर हाल्ने समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले आफ्नो ज्यानमाथि खतरा बढेको भन्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् । 

लामिछानेका समर्थकहरुले आफूमाथि पटक पटक ज्यान मार्ने धम्की दिएको उल्लेख गर्दै उनले सुरक्षा माग गरेका हुन् । सामाजिक सञ्जालबाट धम्की आउने क्रम बढेको उनको भनाइ छ । लामिछानेका समर्थक,शुभचिन्तकबाट ज्यान,मान,सम्मान र प्रतिष्ठामा सुरक्षा थ्रेट आएको गृहसचिव विनोदप्रकाश सिंहलाई सम्बोधन गरेर लेखिएको पत्रमा भनिएको छ । 

आवश्यकीय कामका लागि बाहिर निस्किनसमेत सुरक्षा चुनौतीका कारण समस्या भएकाले सो मुद्दाको किनारा नलाग्दासम्म मलाई सुरक्षा व्यवस्था गराइदिन यो निवेदन पेश गरिएको छ’, पत्रमा उल्लेख छ ।

त्यस्तै, उनले आफूलाई केही भएको खण्डमा त्यसको जिम्मा लामिछानेका समर्थक र शुभचिन्तकले लिनुपर्ने चेतावनी पनि दिएका छन् । उनले भनेका छन्,‘सरकारी निकायले अनुसन्धान गरिरहेको विषयमा एउटा व्यक्तिलाई टार्गेट बनाएर कानुन हातमा लिन खोज्नु नेपालको संविधानविरोधी गतिविधि हो ।’

लामिछानेसंग नेपाली नागरिकता नभएको र सरकारलाई भ्रममा पारेर पार्टी दर्ता गराएको भन्दै युवराजले गत मंसिर ६ गते गृहमा उजुरी दर्ता गराएका थिए । 

त्यस्तै, उनले हिजो निर्वाचन आयोगमा नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्न वा सो दलको साधारण सदस्य नपाउने दावीसहित अर्को उजुरी पनि दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !