१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सँसारकै भरपर्दो पत्रिकामाथि संकट



काठमाडौ । संसारको सबैभन्दा विश्वासिलो र भरपर्दो दैनिक पत्रिका द न्यूयोर्क टाइम्सका समाचारदाताले अब ‘स्टाेरी’हरू लेख्ने छैनन्। उनीहरू समाचार–स्रोत खाेज्दै हिँड्ने छैनन्। फोटो पत्रकारहरू आरामले घरमै बस्नेछन् । यदि टाइम्सको अनलाइन संस्करणमा छापिएका समाचारमुनि असभ्य टिप्पणी पोष्ट भएमा ती टिप्पणी हटाउन पनि कर्मचारी भेटिने छैनन् ।

हिजो बिहिबार द न्यूयोर्क टाइम्समा कार्यरत ११ सयभन्दा बढी पत्रकारले अनेकौँ माग राख्दै काम रोक्ने धम्की दिएपछि प्रकाशक समूह पर्ख र हेरकाे अवस्थामा छ। ‘टाइम्स गिल्ड’का विज्ञापन र प्रशासन शाखासहित सबै विभागमा कार्यरत झण्डै १४ सयभन्दा बढि कर्मचारीले तलब बृध्दिका लागि दबाब दिइरहेका छन् ।

टाइम्स प्रशासनसँग महिनौँदेखि समाधानको अपेक्षामा पर्खी बसेका सयाैँ पत्रकार र कर्मचारीहरू अन्ततः समाचार कक्ष बन्द गर्न बाध्य हुँदैछन् । उनीहरूले मिडियाका उच्च अधिकारीलाई एउटा पत्र लेख्दै खाइपाइ आएकाे ज्याला र सेवा–सुविधा नबढाएमा आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

टाइम्सका प्रमुख कार्यकारी मेरिडिथ कोपिट लेभिएनले आफ्नो हडताललाई पाठकसामु ‘निराशाजनक र कठोर कदम’ भएकाे बताएका छन् । टाइम्सका पत्रकारहरूले पर्याप्त मात्रामा तलब बृध्दि,सेवा–सुविधा विस्तार र काम गर्न सक्ने सहज वातावरण होस् भन्दै नेतृत्वसामु माग राखेका छन् ।

सन् १९८१ पछि टाइम्स हाउसमा यत्राे समूह पहिलोपटक आन्दोलित भएको हो । सन् २०१७ मा टाइम्सका कर्मचारीहरूले सामान्य माग राखेपनि यो हदसम्मको आन्दोलन गरेका थिएनन् । त्योबेला कर्मचारी कटौती र समाचार सम्पादन कक्षका कर्मचारी हटाएको विरोधमा  कार्यालयभित्रै नाटक प्रदर्शन गरिएको थियो ।

चुनौतिपूर्ण आर्थिक वातावरणको हवाला दिँदै धेरै मिडिया कम्पनीले आफ्ना पत्रकार र कर्मचारीलाई हटाइरहेका बेला टाइम्समा पनि यसप्रकारको विवादले स्थान पाएको छ । द न्यूयोर्क टाइम्सलाई सर्वाधिक सफल मिडिया उद्योगका रुपमा लिइन्छ । तर पत्रकार र कर्मचारीको आन्दोलनले एउटा गम्भीर प्रश्न उठाएको छ । गत हप्ता व्यवस्थापन पक्षसँग भएको वार्तामा आन्दोलित समूह गिल्डले सन् २०२३ र २०२४ मा कम्तिमा ५.५ प्रतिशत तलब बृध्दिको माग गरेको थियाे।


प्रतिक्रिया दिनुहोस !