
जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका एक सातादेखि बन्द छ । ६ महिनाको तलबभत्ता नपाएपछि कर्मचारीहरूले नै नगरपालिकामा तालाबन्दी गरेका हुन् । उनीहरूले दिनहुँ पालिका अगाडि धर्ना दिँदै आएका छन् ।
शिक्षकहरू धर्नामा बसेपछि विद्यालय पनि ठप्प छन् । विद्यालय बन्द भएपछि आइतबार विद्यार्थीहरूले पनि सडक जाम गरेर पालिकाविरुद्ध प्रर्दशन गरेका छन् ।
पालिकामा नयाँ जनप्रतिनिधि आएको सात महिना पुग्दै छ । आर्थिक वर्ष सुरु भएको पनि ६ महिना पुग्दै छ । तर, नगर परिषद् हुन सकेको छैन । नगर परिषद् नहुँदा उधारोमै पालिका सञ्चालन भइरहेको नगर प्रमुख विन्य कुमार यादवले जानकारी दिए । चालु आर्थिक वर्षमै १५/२० लाख भन्दा बढी उधारो रहेको उनको भनाइ छ ।
सवारी इन्धन, बैठकको खाजा र चिया खर्च पनि उधारोमै चलेको छ । पालिकामा अल्पमत र बहुमतको विवाद छ । ५० जना कार्यपालिका सदस्य छन् । नगराइनमा नगर प्रमुख विनय कुमार यादव नेपाली कांग्रेसको हुन् । तर, बहुमत एमालेको छ ।
एमालेको उपप्रमुख राधादेवी यादवसहित २८ जना कार्यपालिका सदस्य छन् भने २२ जना कांग्रेसका छन् । एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले कानुन संशोधनको माग गर्दै परिषद्मा रोक लगाएका छन् । नगर प्रमुख यादवले आफूले १० पटकसम्म नगरसभाको बैठक बोलाइसकेको बताए । तर, एमालेबाट निर्वाचित जनप्रतिनिधि बैठकमा सहभागी नहुने गरेको उनको भनाइ छ ।
यहाँ मुख्यत: नगर स्तरीय योजना सञ्चालन हुने विषयमा विगतमा जनप्रतिनिधिहरूले कार्यविधि बनाएका थिए । सो कार्यविधिमा नगर स्तरीय योजना नगर प्रमुखकै नेतृत्वमा सञ्चालन हुने व्यवस्था छ । तर, अहिले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले उक्त कार्यविधि संशोधन गर्नुपर्ने शर्त राखेका छन् । नगरकी उपप्रमुख राधादेवीले अधिकार र योजना बाँडफाटमा विवाद रहेको बताइन् ।