६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

महोत्तरीको रामगोपालपुरमा स्थानीय र प्रहरीबीच झडप‚ चार प्रहरी घाइते



महोत्तरी । महोत्तरीको रामगोपालपुर ५ मा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा ४ जना प्रहरी घाइते भएका छन् । मंसिर २६ गते घरेलु हिंसा मुद्दामा जिल्ला अदालत महोत्तरीले संरक्षणात्मक आदेश गरेपछि माइतबाट घर फर्किएकी नेहा चौधरीले प्रवेश नपाएको विषयलाई लिएर सुरु भएको आन्दोलनले झडपको रुप लिएको थियो ।

घरमा प्रवेश नपाएपछि नेहा आफ्ना श्रीमान् डा. पंकज चौधरीको घरको गेटमै धर्ना बसेकी थिइन् । नेहाले पंकजको घरमा प्रवेश पाउनुपर्ने माग राख्दै गरिएको आन्दोलनमा आन्दोलनकारीहरूले ढुङ्गामुढा गर्न थालेपछि २ जना सशस्त्र प्रहरी, १ जना नेपाल प्रहरी र १ जना नगरप्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रुग्याँस प्रहार गरेको प्रहरीले जनाएको छ । डा. चौधरीलाई नियन्त्रणमा लिएर नेहाको दाइजो मुद्दामाथी थप अनुसन्धान गरिरहेको समयमा नआवश्यक आन्दोलन चर्काएको भन्दै प्रहरीले नेहा चौधरी र नेहारिका राजपुतलाई समेत अहिले नियन्त्रणमा लिएर आन्दोलन मत्थर बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

आन्दोलनकारीको ढुङ्गामुढाबाट नगरपालिकाका कर्मचारीसमेत घाइते भएको सूचना आएको भए पनि आधिकारिक जानकारी नआएको प्रहरीले जनाएको छ । पंकजको परिवारले गेटमा ताला लगाएर घर नै छाडेर हिँडेपछि नेहाले उक्त घरमा प्रवेश पाउनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेको आन्दोलनमा सहभागीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय