८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

चिनियाँ राजदूतलाई भेटेपछि बालकोट हुइकिए प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । नेपालका लागि चीनका नवनियुक्त राजदूत छन सोङले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको छ । अघिल्लो साता काठमाडौं आउनुभएका राजदूत सोङले गत साता राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको थियो । 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र राजदूत सोङबीच झण्डै एक घण्टा कुराकानी भएको थियो । उहाँहरुबीच बिहान साढे ८ बजेदेखि साढे ९ बजेसम्म भेटवार्ता भएको बालुवाटार स्रोतले बताएको छ । त्यसपछि प्रधानमन्त्री दाहाल सोझै बालकोट जानुभएको छ । उहाँ बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी थाल्नुभएको छ । १० बजेदेखि भइरहेको कुराकानी जारी छ । 

आगामी बिहीबार हुने सभामुखको निर्वाचन र त्यसपछि उपसभामुख तथा राष्ट्रपतिको निर्वाचनलाई लिएर माओवादीको भूमिकातर्फ एमालेले आशंका गरेको सन्दर्भमा दाहाल बालकोट पुग्नुभएको हो । नेपाली काँग्रेसले सभामुख र राष्ट्रपतिको निर्वाचनमा आफ्ना उम्मेदवारलाई माओवादीको समर्थन रहने आशय व्यक्त गरेपछि एमाले नेतृत्व सशंकित छ । 

अर्कोतर्फ झण्डै एक महिना हुन लाग्दा पनि मन्त्रिमण्डल बिस्तार हुन सकेको छैन । त्यसमा पनि एमालेले माओवादीलाई दोष दिएको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !