१६ माघ २०७९, सोमबार
 |   Mon Jan 30 2023
Logo

तीन अर्बको सुन्तला उत्पादन



कास्की । गण्डकीमा यस वर्ष सुन्तला उत्पादन १० प्रतिशतले वृद्धि भएको छ । चालु वर्षमा ५५ हजार ९ सय ३५ टन सुन्तला उत्पादन भएको प्रदेश कृषि निर्देशनालयले जनाएको छ । गत वर्ष भने ५० हजार ८ सय ५० टन फलेको थियो ।

गण्डकीमा ८ हजार ३ सय ४२ हेक्टरमा सुन्तला लगाइएको छ । त्यसमध्ये ५ हजार ४ सय ५७ हेक्टर सुन्तलाका लागि उत्पादनशील मानिन्छ । किसानले पाउने प्रतिकिलो ५० रुपैयाँका दरले चालु आर्थिक वर्षमा २ अर्ब ७९ करोड ६७ लाख ५० हजार बराबरको सुन्तलाको कारोबार भएको निर्देशनालयकी कृषि अर्थविज्ञ शशी अधिकारीले जनाइन् । गत वर्ष भने किसानले २ अर्ब ३४ लाख आम्दानी गरेका थिए ।

गत वर्षको तुलनामा यस पटक सुन्तला खेतीका लागि ३ सय ९७ हेक्टर र २ सय ६० हेक्टर उत्पादनशील जमिन वृद्धि भएको छ । गत वर्षसम्म जम्मा ७ हजार ९ सय ४५ हेक्टरमा सुन्तला खेती हुँदै आएको निर्देशनालयले जनाएको छ । सुन्तला खेतीले धेरै ठाउँ ओगटे पनि उत्पादन क्षेत्र भने कम रहेको अधिकारीले बताइन् । करिव २० प्रतिशत सुन्तला अझै बोटमै छ । ११ मध्ये मनाङ र मुस्ताङमा बाहेक अरूमा सुन्तला खेती हुन्छ । सबैभन्दा धेरै सुन्तला स्याङ्जामा १५ हजार १ सय ८० टन अर्थात् ७ करोड ५९ लाख बराबरको उत्पादन भएको छ । यो देशमै सबैभन्दा बढी सुन्तला उत्पादन हुने जिल्ला हो ।

सबैभन्दा कम लमजुङमा ७ सय १५ टन उत्पादन भएको छ । धेरै उत्पादन हुने जिल्लामा तनहुँ दोस्रोमा पर्दछ । यहाँ १२ हजार ५ सय ४० टन अर्थात् ६ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कास्कीमा ८ हजार ३ सय ७१, गोरखामा ६ हजार १ सय ४६, पर्वतमा ४ हजार ४ सय, बागलुङमा ४ हजार १५, म्याग्दीमा ३ हजार ६ सय ९३ र पूर्वी नवलपरासीमा ८ सय ७५ टन सुन्तला उत्पादन भएको छ । स्याङ्जामा २ हजार ६७, तनहुँमा १ हजार ७ सय १२, गोरखामा १ हजार ८२, कास्कीमा ८ सय ९४, पर्वतमा ८ सय ७२, म्याग्दीमा ७ सय ८०, बागलुङमा ६ सय २२, लमजुङमा १ सय ७२ र नवलपुरमा १ सय ४२ हेक्टरमा सुन्तला खेती हुने निर्देशनालयले जनाएको छ ।

सुन्तलाको क्षेत्र बर्सेनि विस्तार हुँदै आएको निर्देशनालयले जनाएको छ । स्याङ्जामा करेनडाँडा, जैसीडाँडा, मनकामना, राङखोला, बगालथोक, भीरकोट, अर्जुनचौपारी, एलादी, तनहुँमा म्याग्दे गाउँपालिका र गोरखामा सहिद लखन गाउँपालिका सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिन्छन् । यहाँ उत्पादित सुन्तलाको मुख्य बजार पोखरा हो । त्यसपछि बुटवल र काठमाडौं पनि पुग्ने अधिकारीले बताइन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय