१५ माघ २०७९, आईतवार
 |   Sun Jan 29 2023
Logo

काठमाडौंकी एटीसी सरस्वतीको पारिवारिक वियोगान्त : पोखरामा पति, छोराछोरी र सासू गुमाईन



काठमाडौं । पति र छोराछोरी निन्द्रामै रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकी एयर ट्राफिक कन्ट्रोल (एटीसी) अफिसर सरस्वती डुम्रे (शर्मा) ललितपुरको इमाडोलस्थित घरबाट ड्युटीका लागि विमानस्थल हिँडिन् । त्यसै दिन उनको परिवार पोखरा जाँदै थियो । निन्द्रा बिथोलेर ‘बाइ’ भन्नुभन्दा सुटुक्क हिँड्न उनी ।

१ माघको त्यो दिन परिवारका सदस्यहरु विमानस्थलबाटै पोखरा जानेवाला थिए । तर विहानैदेखि ड्युटीको घन्चमञ्चमा फसेकी सरस्वतीलाई एकछिन फुर्सद निकाल्नै कठिन भयो । एक सहकर्मीका अनुसार उनी ‘राउन्ड म्यानेज’ गरेर परिवार भेट्न यात्रु प्रतीक्षालय जान चाहेकी थिइन् । त्यसै बेला पति युवराज शर्माले फोनमा भने, ‘अहिले नआऊ । तिमी नजाने भएपछि सानो छोरा रुन्छ । सरस्वती टावरमै बसिरहिन् ।

विहान १०:३२ मा यति एयरलाइन्सको ‘९ एन-एनएसी’ विमान पोखरा उड्नेवाला थियो । उनी विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरको ‘हट सिट’मा थिइन् । एक एक घण्टामा भूमिका फेर्दै टावरका विभिन्न काममा संलग्न हुनु एयर ट्राफिक कन्ट्रोलरहरुको हुनु दिनचर्या हो । संयोग, विमानस्थलको कन्ट्रोल रुममा बसेर परिवार सवार विमानलाई पोखराका लागि उड्न अनुमति दिने पालो उनैको भागमा पर्‍यो । सिट पेटी बाँधेर बसेका सन्तानको सुख हेर्दै उड्न नपाए पनि तीनलाई काठमाडौंबाट ‘शुभयात्रा’ भनेर पठाउनु उनका लागि सम्झनाको एउटा क्षण बन्दै थियो ।

विमान उडेपछि सरस्वती र उनको टिमको कमान्डमै काठमाडौंको एयर ट्राफिक कन्ट्रोलरले विमानको कम्युनिकेसन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिकलाई ‘ह्यान्डओभर’ गरेको थियो । बास छाडेका चराहरुले बरु फर्किने गुँड भेट्टाउलान्, तर यतीको त्यो जहाजले ओर्लिने जमिन भेटाउन पाएन । सबैभन्दा माया गरेका मानिसहरु सरस्वतीको जीवनमा फर्किएनन् ।

अवतरणको अनुमति लिइसकेको अवस्थामा विहान १०ः५० यो विमान पोखराको सेती खोंचमा झर्‍यो । सरस्वतीले यो दुःखद् विमान दुर्घटनामा उनले आफ्ना श्रीमान मात्रै गुमाउनुपरेन, आफ्ना २ कलिला छोरा/छोरीहरु र सासु आमा समेतको अन्तिम विदाइ गर्नुपर्‍यो । सासु जमुनासँगै सरस्वतीका श्रीमान युवराज, छोरी ११ वर्षीया आयुर्दी शर्मा र साढे २ वर्षीय छोराको निधन भयो । युवराज अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड) मा अधिकृत थिए । माघे संक्रान्तिका दिन सरस्वतीलाई एटिसीको टावरमा एक्लै छाडेर यो परिवारले आफ्नै जीवनको मसान्त भोग्यो ।

यो घटनाले सरस्वतीको जीवनमा ल्याएको अकल्पनीय क्षति सम्झिएर उनकै सहकर्मीहरु पनि भक्कानिन्छन् ।
विमान पोखराको एटीसीसँग जोडिएको केही मिनेटमै पोखरामा काठमाडौंबाट आएको विमान दुर्घटना भएको भन्दै पोखरा उडान रोक्न पोखराको एयर ट्राफिक कन्ट्रोलरले टेलिफोन गरेका थिए । काठमाडौंमा सो दुर्घटनाको सूचना सबैभन्दा पहिले पाउनेममध्ये सरस्वती पनि एक पात्र हुन् पुगिन्, जुन दुर्घटनामा परेको विमानमा उनको सिंगो परिवार नै यात्रारत थियो । सरस्वतीले त्यो समयमा कस्तो झड्का ब्यहोरिन् भन्ने अनुमान लगाउन पनि कठिन हुने उनका सहकर्मीहहरु बताउँछन् ।

बढुवाको लिखित प्रतिस्पर्धामा नाम निस्किएपछि अन्तरर्वार्ताको तिथि तोकिएको नहुँदो हो त सरस्वती पनि सोही विमानमा हुने थिइन् । ८औं तहमा एयर ट्राफिक अफिसर ९उपप्रबन्धक० रहेकी उनी ९ औं तह (प्रबन्धक) हुन चाहान्थिन् । तीन दिनपछि उनको ९ औं हतको अन्तरर्वार्ता हुनेवाला थियो । त्यसैकारण उनी १ माघमा उनी परिवारसँग पोखरा जान पाइनन् ।

विमानस्थलकी कर्मचारी भएकाले उनले नै परिवारलाई पोखरामा पठाउने सबै बन्दोबस्ती मिलाएकी थिइन् । यो मुटु चुँडिने गरी भएको यो घटनाले सरस्वती मात्रै हैन, शर्मा परिवार र पर्वतको विहादी गाउँपालिका स्तब्ध छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय