
काठमाडौ । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गरेर संसद भवनबाट बाहिरिँदै थिए।
अगाडि-पछाडि सुरक्षाकर्मीको गाडीसहित संसद भवनको दक्षिण गेटबाट निस्किएर नयाँ बानेश्वर चोकमा प्रधानमन्त्री सवार सेतो गाडी आइपुगेको थियो।त्यही बेला कालो लुगा लगाएका एक युवक झोला भिरेर बानेश्वर चोकमा पुगे। बानेश्वर चोकमा प्रधानमन्त्री सवार गाडी आइनपुग्दै ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याए।
पेट्रोल खन्याउँदै शरीरमा आगो लगाएका उनी प्रधानमन्त्री प्रचण्ड सवार गाडीनजिकै पुगेर ढले। तर तत्कालै प्रधानमन्त्री सवार गाडीलाई सुरक्षाकर्मीको अर्को गाडीले छेकेर अघि बढायो।
शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्य गम्भीर घाइते भएका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले उनलाई घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको बताएका छन्।
उनलाई प्रहरीले घटनास्थलबाट उठाएर तत्कालै कीर्तिपुस्थित बर्न अस्पताल पुर्याइसकेको छ। आचार्यले आत्मदाह प्रयास गर्नुको कारण नखुलेको मैनालीले बताए।