१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

प्रेमप्रसाद आचार्यले प्रधानमन्त्रीकै कारगेटकै सामुन्ने आत्मदाह गरे तर कार रोकिएन



काठमाडौं । इलामका प्रेमप्रसाद आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारगेटकै सामुन्ने आत्मदाह गरेको खुलेको छ । प्रधानमन्त्री दाहाल संसद् भवनबाट बाहिरिँदै गर्दा कारगेट नजिकै गएर उनले शरीरमा आगो सल्काएको सीसीटीभी फुटेजमा देखिन्छ ।

प्रधानमन्त्री प्रचण्ड हिजो राष्ट्रिय सभालाई सम्बोधन गर्न संसद् भवन पुगेका थिए । संघीयता विरुद्ध बोल्ने मन्त्रीलाई कारबाहीको चेतावनी दिएर करिब तीन बजे संसद् भवनबाट प्रचण्ड बाहिरिँदै गर्दा घटना भएको हो ।

सीसीटीभी फुटेजमा देखिए अनुसार संसद् भवनबाट प्रधानमन्त्री प्रचण्डको सवारी निस्कनासाथ प्रेम प्रसाद ‘सीन’ मा प्रवेश गरेका थिए । उनी केमा चढेर आएका थिए भन्ने फुटेजमा देखिएको छैन । प्रधानमन्त्रीको सवारी निस्कनासाथ प्रेमप्रसादले त्यसतर्फ दौडिँदै शरीरमा आगो सल्काएको देखिन्छ । त्यसअघि सडकमा निगरानी गरिरहेका एक पुरुषले उनीतर्फ हात हल्लाउँदै केही निर्देशन दिएका छन् । तर, प्रेमप्रसादले आगो सल्काएपछि उनी पछि हट्छन् । त्यसपछि प्रेमप्रसाद प्रधानमन्त्रीकै सेतो गाडी सामुन्ने पुगेर लडेका छन् ।

प्रधानमन्त्रीको कारगेटमा रहेको सिटी पुलिसको पहिलो गाडीमा रहेका सुरक्षाकर्मीले नै प्रेमप्रसाद लडेको देखेका थिए । तर, कारगेट रोकिएन । स्रोतका अनुसार सीटी पुलिसका सुरक्षाकर्मीले एक व्यक्ति आगो सल्काएर ढलेको भन्दै प्रहरीलाई सूचना चाहिँ दिएका थिए ।

स्रोतले भन्यो, ‘उच्च पदस्थको सवारीका बेला बाटोमा केही भइहाल्यो भने पनि कारगेट रोक्न नमिल्ने प्रोटोकल छ । सवारी गइसकेपछि मात्रै सुरक्षाकर्मीले प्रेमप्रसादलाई जोगाउन प्रयास गरेका थिए । तर, त्यतिबेलासम्म उनी धेरै जलिसकेका थिए । उनको शरीर ८० प्रतिशत जलेको अवस्थामा अस्पताल पुर्‍याइएको थियो ।


प्रतिक्रिया दिनुहोस !