१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

आफ्नै अटेरीले अनागरिक बने रवि : घरघडेरी, सम्पत्ति र मतदाता नामावली पनि गुमाए



काठमाडौं । सञ्चार क्षेत्रमा राम्रो छवि बनाएका पत्रकार रवि लामिछाने टेलिभिजन कार्यक्रममार्फत देश तथा विदेशमासमेत रहेका नेपालीले खेप्नु परेको समस्या उठाएर उनी सेलिब्रिटी बने ।

सञ्चारकर्मबाट पाएको अथाह मायालाई उनले राजनीतिक दलमा रुपान्तरण गरेर अगाडि बढ्ने योजना बनाएका थिए। सामाजिकदेखि विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिलाई साथ लिएर रविले ७ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० दल घोषणा गरे।

रास्वपाको अहिलेसम्म केन्द्रीय समितिले पूर्णता पाएको छैन। रास्वपाका एक पदाधिकारीका अनुसार २४ जनामात्रै केन्द्रीय सदस्य छन्। असार पहिलो साता नयाँ दल खोलेका रविले ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको चुनावमा ऐतिहासिक सिट जित्यो।

गठन भएको ६ महिनामै रास्वपाले सभापति रवि लामिछानेसहित प्रत्यक्षमा ७ सिट जित्यो। ११ लाख बढी मत पाएर समानुपातिकमा पनि १४ सिट जित्न सफल भयो। राजनीतिक दलको इतिहासमै सबैभन्दा छोटो समयमा उनले दल र आफूलाई सफलताको शिखरमा पुर्‍याए।

सरकार बनाउन निर्णायक मानिएको सिट संख्या रहेकैले रवि आफैँले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँग संवाद गरिरहेका थिए। अन्ततः उनी एमाले–माओवादीसहितका गठबन्धन दलमा जोडिए।

११ पुसमा उपप्रधान तथा गृहमन्त्री बनेर पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भए। आफ्नो दलतर्फबाट दुई मन्त्रालय लिन सफल भए। यसरी एकपछि अर्को गर्दै सफलता चुमिरहेका रविलाई सर्वोच्च अदालतको शुक्रबारको फैसलाले ठूलो झ्ड्का दिएको छ।

लामिछानेले खारेज भइसकेको नागरिकता बोकेको भन्दै अदालतले उनको सांसद पद खारेज गरिदिएको छ। नागरिकता खारेज भएपछि उनले गठन गरेको दलको सभापति पद पनि गुमाएका छन्। यस्तै उपप्रधान तथा गृहमन्त्री पनि गुमाएका छन्।

यति मात्र होइन् रवि नेपाली नागरिक नै रहेनन्, गैरनागरिक भए। हुन त उनलाई नागरिकता पुनप्राप्ति गर्ने अवसर छ, तर, त्यसका लागि केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । हुन त उनले केही दिनमै नागरिकता पुनः प्राप्तिको निवेदन दिएर लिन सक्छन्।

त्यो तत्कालै हुन सक्ने सम्भावना पनि छ। यद्यपि उनीमाथि नागरिकता जालसाँझीको फेरि मुद्दा पर्‍यो भने फेरि प्रक्रिया लम्बिन सक्छ। सर्वोच्च अदालतले शुक्रबार गरेको फैसला अनुसार रविले नेपाली नागरिकता पुनः प्राप्ति नगरेकैले उनी गैर नागरिक भएको उल्लेख गरेको छ।
अदालतकै अनुसार रविलाई बेलैमा नागरिकता पुन प्राप्ति गर्ने समय थियो। तर उनले टेरेनन्। अर्को, रविले जुन नागरिकता प्रयोग गरेर दल दर्ता गरेका थिए, त्यो बैधानिक थिएन। एकपटक त्यागेको नागरिकता उनले आफ्नै तजबिजमा प्रयोग गरेका थिए।

०७२ असोज ३ मा संविधान जारी हुँदा रवि नेपालका नागरिक थिएनन्– अमेरिकाको नागरिकता र राहदानी प्रयोग गरिरहेका थिए । रविले २०५० सालमा वंशजको आधारमा नागरिकता लिएका हुन्।

त्यो त्यागेर ९ फागुन २०७० मा अमेरिकी ग्रीन कार्ड र २१ फागुनमा रविले अमेरिकी राहदानी लिएको सार्वजनिक भएको थियो। तर, उनले सन् २०१८ मा अमेरिकी नागरिकता त्यागेको सार्वजनिक गरे।

तर, नेपाली नागरिकता पुनः प्राप्त गर्ने प्रक्रिया नै अघि बढाएनन्। रविले गरेको ठूलो कमजोरी यही हो। एक त संविधान जारी हुँदा उनीसँग वंशजको नागरिकता थिएन, अर्को उनी त्यस समयमा नेपालमा स्थायी बसोबास पनि गरेका थिएनन्।

नेपालको संविधान भाग २, नागरिकता खण्ड, धारा ११ को उपधारा २ ९क० बमोजिम वंशजको नागरिकता प्राप्त गर्न यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोबास भएको व्यक्ति हुनैपर्ने उल्लेख छ। यसैलाई टेकेर सर्वोच्च अदालतले कानुनतः लामिछाने नेपाली नागरिकको हैसियतमा नभएको आदेश दिएको हो।

रविले के के गुमाउँछन् ?
नेपाली नागरिकता हुँदा पाउने सबै अवसर उनले गुमाउनेछन्।

एक कानुनविदका अनुसार ‘सामान्य प्रक्रिया पुरा गरेपछि रविले नागरिकता पुनर्प्राप्ति गर्न त सक्छन्, तर अहिले उनी नागरिकताविहीन भएका छन्। अहिले उनीसँग मतदाता परिचयपत्र, विवाह दर्ता, घरघडेरी, सम्पत्ति, लगायत नेपाली नागरिकताको प्रमाणपत्र राखेर पाउने सबै अधिकार खोसिएको छ। यो २४ घण्टा वा ४८ घण्टासम्म मात्रै पनि हुन सक्छ। उनको व्यक्तित्व अहिलेलाई नेपाली रहेन।’


प्रतिक्रिया दिनुहोस !