८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

माओवादीभित्र दुई धार, एमालेलाई राष्ट्रपति नदिन प्रचण्डमाथि चार नेताको चर्को दबाब



काठमाडौं । पुस १० को सहमतिअनुसार एमालेलाई राष्ट्रपति नछाड्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टीभित्रबाटै दबाब बढेको छ । पार्टीको जारी स्थायी कमिटीको बैठकमा एमालेलाई सर्वसम्मत राष्ट्रपति नसुम्पिन अधिकांश नेताहरुले प्रचण्डमाथि दबाब बढाएका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे पार्टी नेताहरुसँग सुझाव मागेपछि माओवादी नेताहरुले एमाले फेवरको राष्ट्रपति दिन नहुनेमा जोड दिएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले जतिवेला पनि अप्ठ्यारो पार्न सक्ने भएकाले बेलैमा सचेत हुनुपर्ने उनीहरुको भनाइ थियो ।

यसअघि ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि ओली र प्रचण्डको सहकार्यमा ब्रेक लागेको थियो । तर, कांग्रेस नेतृत्वको गठबन्धनमा चुनाव लडेका प्रचण्ड प्रधानमन्त्री नपाएकै झोकमा ओलीसँग अकस्मात सहकार्य गर्न पुगेका थिए ।

तर, अहिलेको सत्ता गठबन्धनको निरन्तरताको विषयमा माओवादीभित्र दुई धार देखिएको छ । उपाध्यक्ष कृष्णबहादुर महरा, प्रस्तावित उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिव जनार्दन शर्मा र शक्ति बस्नेत सर्वसम्मत एमालेलाई राष्ट्रपति दिन नहुने पक्षमा रहेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार उनीहरु आवश्यक परेको खण्डमा हिजोकै गठबन्धन फर्काउन तयार हुनुपर्ने पक्षमा छन् ।
त्यसको संकेत गर्दै शुक्रबारको स्थायी कमिटी बैठकपछि स्थायी कमिटी सदस्य नारायण दाहालले भनेका थिए, ‘हाम्रो एजेण्डालाई निःसर्त अगाडि बढाउने व्यक्ति राष्ट्रपतिमा चाहियो । हामी कांग्रेस(एमाले भन्दैनौं। देशको आवश्यकता महसुस गर्न राष्ट्रपतिमा पनि सहमति हुनुपर्छ नभए देश विघटनतिर जान्छ । देशमा अस्थिरता पैदा हुन्छ ।’

एमाले नेतृत्वको सत्ता गठबन्धनबाट प्रधानमन्त्री पाए पनि अरु महत्वपूर्ण मन्त्रालय माओवादीले पाउन सकेको छैन । सरकारको नेतृत्व गरेको दलले गृह, अर्थ र परराष्ट्र मन्त्रालय राख्ने प्रचलन छ । तर, यीमध्ये माओवादीले कुनै पनि मन्त्रालय लिन नसकेपछि नेताहरु आफ्नै नेतृत्वको सरकार भए पनि सन्तुष्ट छैनन् ।

यद्यपि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा पदमुक्त भएपछि गृह मन्त्रालय आफैंले राख्नुपर्ने माओवादीभित्र कुरा उठेको छ । तर, अहिलेसम्म कुनै समझदारी बनेको छैन ।

त्यसैले प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको जोड दिएका हुन् । राष्ट्रपतिको विषयलाई लिएर माओवादीभित्र देखिएको विवादलाई लिएर कांग्रेस नेताहरु ढोक्सा थापेर सक्रिय भएर लागेका छन् । यसअघिकै गठबन्धनलाई पनि अघि बढाउनुपर्नेसम्मको रणनीति अख्तियार गरिरहेका माओवादी नेताहरुसँग कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्कालगायतका नेताहरु संवादमा छन् ।

तर, प्रचण्डलाई बालकोटसम्म पुर्‍याउन भूमिका खेल्ने नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङलगायतका नेताहरु यही गठबन्धनको निरन्तरताको पक्षमा छन् । पार्टीभित्रको दबाब र आगामी सम्भावनालाई मध्यनजर गरेर एमालेबाट सर्वस्वीकार्य हुने व्यक्ति आइदिए हुन्थ्यो भन्नेमा उनीहरु छन् । उनीहरुले राष्ट्रिय सहमतिका लागि सर्वस्वीकार्य हुने सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृत बोहोराबाट कोही आइदिए हुन्थ्यो भन्ने अडान राखिरहेका छन् ।

महासचिव देव गुरुङको नेतृत्वलाई दिएको कार्यविभाजनसम्बन्धी कार्यदलको सुझावको आधारमा थप निर्णय हुने बताए । तर, पुस १० मा भएको सहमतिअनुसार यही गठबन्धनले निरन्तरता पाउने एमाले उपमहासचिव प्रदीप ज्ञवाली बताउँछन् ।

नेता ज्ञवालीले सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरे पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादी निर्णयले आशंका बढाएको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउनुपर्नेमा माओवादी र कांग्रेसको एकैस्वर छ ।

कांग्रेसका कतिपय नेताहरुले आफूहरुले प्रस्ताव गरेको व्यक्ति नै शीतलनिवास पुग्ने दाबी गर्दै आइरहेका छन् । जुन कुराले एमालेभित्र तरङ्ग पैदा गरेको छ । त्यसैले प्रचण्डलाई विश्वस्त पार्न ओली निरन्तर बालुवाटार धाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !