७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अधिनायकवादी रुस र चीनविरुद्ध लड्न नेपाल र अमेरिका मिल्नुपर्छ : उपविदेशमन्त्री नुल्यान्ड



काठमाडौं । राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले अधिनायकवादीहरुले बलपूर्वक विश्वव्यापी नियमलाई कब्जा गर्न खोजिरहेको भन्दै लोकतन्त्रको रक्षाका लागि अमेरिकाले नेपालको समेत साथ चाहेको बताएकी छन्। दुई दिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा उनले चीन र रुसको नाम नलिई त्यस्तो बताएकी हुन्। उनले लोकतन्त्र बचाउने विश्वव्यापी लडाइँमा नेपाल अमेरिकाको महत्वपूर्ण साझेदार रहेको समेत बताइन्।

उनले भनिन् , नेपालमा हालै भएका चुनाव पनि लोकतन्त्र सुदृढीकरणका लागि महत्वपूर्ण रहे। हामी अहिले विश्वभर अधिनायकवादीले बलपूर्वक विश्वव्यापी नियमलाई आफ्नो हातमा लिन प्रयास गरिरहेको देख्न सक्छौँ,’ उनले सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘तर, नेपाल र अमेरिका त्यो बाटोमा हिँड्दैनन्। यी दुवै मुलुक आफ्ना जनताको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न चाहन्छन्। जनताको चाहनाद्वारा शाषित हुन चाहन्छन् र सरकारले जनताको हितमा काम गर्छन्। यो नै नेपाल र अमेरिकाको लोकतन्त्रको मुख्य अवयव हुन्, त्यसकारण हामी लोकतन्त्रको रक्षाका लागि मिलेर काम गर्नुपर्छ। मैले यही कुरा यहाँको सरकारसमक्ष आए।

अमेरिकाले आफूलाई लोकतन्त्रको पहरेदार ठान्दै आएको छ। उसले खासगरी आफ्ना प्रतिद्वन्द्वी मुलुक रुस र चीनलाई अधिनायकवादीको संज्ञा दिने गर्छ। चीन र रुस एकातिर, अमेरिका सहित पश्चिमा शक्ति अर्कोतिर भई विश्वराजनीति धु्रवीकृत भइरहेका बेलामा नेपाल आएकी अमेरिकी वरिष्ठ अधिकारीले लोकतन्त्रको रक्षामा नेपाल अमेरिकाको महत्वपूर्ण साझेदार रहेको बताएकी हुन्।

चीन र रुस जस्ता मुलुकसँग नेपालको सम्बन्ध सघन नहोस् भन्नेमा अमेरिकी चिन्ता देखिन्छ। अधिनायकवादी शासनव्यवस्था भएका मुलुकसँग नेपालको सम्पर्क बढे अमेरिकी प्रभाव कम हुने विश्लेषण छ। युक्रेन मामिलादेखि ताइवानसम्मका विश्वव्यापी भूराजनीतिक मुद्दामा अमेरिकाले नेपालको साथ खोजेको छिपेको छैन।

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भएका अलगअलग भेटमा अमेरिकी उपमन्त्रीले लोकतन्त्रको सुदृढीकरणमा नेपाल अमेरिकासँगै अघि बढ्नुपर्ने धारणा राखिन्।

प्रधानमन्त्री प्रचण्डले नेपालले संविधानमार्फत् संघीय लोकतान्त्रिक प्रणाली संस्थागत गरेको बताए। उनले शान्ति प्रक्रियाको महत्वपूर्ण पाटोका रुपमा रहेको संक्रमणकालीन न्यायलाई राष्ट्रिय सहमतिमै टुंग्याउने बताए। उनले असंलग्न परराष्ट्र नीतिका आधारमा छिमेकी तथा अन्य मुलुकसँग असल सम्बन्ध राख्ने नीति अहिलेको सरकारको रहेको बताए। प्रचण्डले अमेरिकाको जारी सहयोगका लागि धन्यवाद पनि दिए।

त्यसक्रममा अमेरिकी उपविदेशमन्त्री नुल्यान्डले एमसीसी अन्तर्गतका सडक र प्रशारण लाइन सम्बन्धी परियोजना कार्यान्वयनबारे चासो राखेकी थिइन्। अमेरिकाले अबका दिनमा एक अर्ब अमेरिकी डलरभन्दा बढीको लगानी नेपाल पठाउने तयारी गरेको जानकारी पनि उनले गराइन्। नुल्यान्डले नेपालको आर्थिक समृद्धि र विकासमा अमेरिकाको साथ रहने बताइन्।

परराष्ट्रमन्त्री राईसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा नुल्यान्डले एमसीसी अन्तर्गत परियोजना कार्यान्वयनका अलावा तिब्बती शरणार्थीका मानवअधिकारका विषयमा नेपालको नयाँ सरकारको पोजिसन के हो भनेर चासो राखेकी थिइन्। प्रचण्ड नेतृत्वमा सरकार बनेपछि यहाँ आउने नुल्यान्ड पहिलो अमेरिकी उच्च अधिकारी हुन्। यद्यपि उनको भ्रमण सूचीमा नेपालबाहेक भारत र श्रीलंका पनि छन्।


प्रतिक्रिया दिनुहोस !