८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

बालेन साहको बर्बरता : ह्विलचेयरमा बसेकालाई उठाएर ट्रकमा लोड गरियो



काठमाडौं । बुधबार गोरखापत्र दैनिकको पहिलो पृष्ठमा प्रकाशित भएको एउटा तस्बिरले सामाजिक सञ्जालमा तरंग सिर्जना गरेको छ । गोरखापत्रका पत्रकार सूर्यप्रसाद पाण्डेले खिचेको सो तस्बिरमा ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका एक व्यक्तिलाई पक्राउ गरेर नगर प्रहरीले ट्रकको पछाडि ह्विलचेयरमै राखेर लगिराखेको देख्न सकिन्छ ।

उनलाई नजिकबाट देखेकाहरुले महानगरले जबर्जस्ती गरेपछि उनी भक्कानिएर रोएका थिए । उनलाई काठमाडौंको मखन तरणीबहाल अगाडि ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका बेला नगर प्रहरीले उठाएर ट्रकमा राखेको थियो ।

ह्विलचेयरमा त्यहाँ बसेर मास्क बेच्दै आएका व्यक्ति हुन् दोलखाका डिल्लीबहादुर कार्की । महानगरपालिकाका नगर प्रहरीले ह्विलचेयरमा ट्रकको पछाडि राखेर अमानवीय कार्य गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

पत्रिकामा प्रकाशित उक्त तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै पत्रकार गजेन्द्र बूढाथोकीले लेखेका छन्, “संयुक्त राष्ट्र संघीय मानवअधिकार महासन्धि, अपांगता सम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिको पक्षधर राष्ट्र होइन नेपाल ?”

सरकारले फरक क्षमता भएका मानिसहरु कालो नम्बर प्लेट ९भाडा०को गाडीमा सिंहदरबार जान पाउने निर्णय गरेको भोलिपल्टै महानगरले एकजना फरक क्षमता भएका व्यक्तिमाथि अमानवीय व्यवहार गरेको पाइएको छ । काठमाडौंको मखन तरणीबहाल अगाडि ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका उनलाई नगरप्रहरीले मंगलबार दिउँसो ३ बजे लगेको थियो ।

पछिल्लो समय काठमाडौं महानगपलिकाले फुटपाथ व्यापार निषेध गरेको छ । व्यापारीलार्ई लखेटी–लखेटी महानगरले ठेला जफत गर्दै आएको छ । महानगरका एसपी दिनेश अर्यालले उनलाई पक्राउ नभइ मानव सेवा आश्रममा लैजानलाई गाडीमा हालेर टेकु लगेको बताए ।
महानगर आन्तरिक प्रशासन तथा जरिवाना इकाइका प्रमुख नगरप्रहरी निरिक्षक राजन कुमार कार्कीले उनको विवरण नराखेको बताए ।


प्रतिक्रिया दिनुहोस !