६ चैत्र २०८०, मंगलवार
 |   Tue Mar 19 2024
Logo

२६ सहसचिवको एकमुस्ट सरुवा



काठमाडौं । सरकारले एकै पटक २६ सहसचिवको सरुवा गरेको छ । अस्ति सोमवारको क्याबिनेट बैंठकको निर्णयमा घुसाएर ती सहसचिवहरुको सरुवा भएको हो । जसमा अर्थका ६ सहसचिव त्यहाँबाट बाहिरिएका छन् भने ६ जना अन्यत्रबाट इन भएका छन् । अर्थमन्त्री बनेलगतै विष्णु पौडेलले अर्थ र राजश्वका दुबै सचिव परिवर्तन गर्नुभएकोमा अब केही महाशाखाका प्रमुखहरु त्यहाँबाट हटाइएका छन् ।

अर्थबाट बाहिर पठाइएकामा भुपाल बराल,बाबुराम सुवेदी, केदार शर्मा, रमेश केसीलगायत छन् । यस्तै भन्सार विभागबाट यज्ञ कोइराला र महालेखा नियन्त्रक कार्यालयबाट जितेन्द्र बस्नेतहरु गृह पठाइएका छन् । भुपाल बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,बाबुराम सुवेदीलाई राष्ट्रिय योजना आयोग,अर्थको प्रशासन महाशाखा प्रमुख केदार शर्मालाई गृह मन्त्रालय र वित्तीय व्यवस्थापन महाशाखाका रमेश केसीलाई स्वास्थ्य मन्त्रालयमा पठाइएको छ । यसरी अर्थबाट तीन सहसचिवले गृहमा प्रवेशको अवसर पाउँदा अर्थमा धनीराम शर्मा, श्रीकृष्ण नेपाल, झक्कप्रसाद आचार्य र रमेश अर्याल,सेमन्तक पोखरेल र प्रदेशबाट रामप्रसाद आचार्यलाई भित्राइएको छ ।

अन्यनत्रबाट गृहमा भित्रिएका सहसचिवहरुमा सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डित,आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशका प्रदेश सचिव दिनेश सागर भुसाल रहेका छन् ।प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार,राजश्व अनुसन्धान विभागका हाकिमलाई तीन महिनामै त्यहाँबाट लखेटिएर सञ्चारतिर पठाइएको छ ।

एउटा वाणिज्य बैंकको ५ अर्ब राजश्व छलीविरुद्ध उग्र रुपमा प्रस्तुत भई बैंकका १४ उच्च पदस्थसँग वयान लिने काम टुंग्याएका महानिर्देशक मदन दाहाललाई श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । सञ्चार मन्त्रालयका उत्तर खत्री पनि श्रममै सरुवा हुनेमा परेका छन् । कार्यालयमा भन्दा लोकसेवाको क्लासमा बढी भेटिने टोकराज पाण्डे गृह ताकेकोमा सत्यनिरुपण आयोगमा पठाइएका छन् भने वन तथा वातावरण विभागका महानिर्देशक नमराज घिमिरे भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भित्रिएका छन् । यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेललाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामा पठाइएको छ ।

यस्तै,ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव बाबुराम भण्डारीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पठाइँदा उर्जामा सामाजिक विकास मन्त्रालय धनगढीका प्रदेश सचिव दीपक लामिछानेलाई तानिएको छ । यता,शहरी विकास मन्त्रालयमा कार्यरत मोहनराज चापागाईँलाई सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय प्रदेश नं १ मा पठाएर त्यहाँका अशोककुमार साहलाई शहरीमा भित्राइएको छ । अर्थ तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका प्रदेश सचिव नेत्रप्रसाद सुवेदीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रवेश पाएका छन् ।

निर्वाचन आयोगका विश्वप्रसाद अर्याललाई बेपत्ता छानबिन आयोगतिर पुग्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी सहसचिव सुशीला अर्याललाई राष्ट्रिय किताबखानामा खटाइएको छ । प्रचण्ड प्रधानमन्त्री बने यता,किस्ता किस्तामा गरी ९ सचिव सरुवामा परिसकेका छन् भने पहिलो पटक २६ जना सहसचिवको सरुवा गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !