१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

मलेसियाका गृहमन्त्रीले आज प्रधानमन्त्री दाहाल र श्रममन्त्री अर्यालसँग भेटघाट गर्दै



काठमाडौं । मलेसिया र नेपालबीच आज थप श्रमिक लैजाने र श्रमीकका समस्या समाधानको विषयमा छलफल हुने भएको छ। हालै ५ लाख आप्रवासी श्रमिक भित्र्याउने घोषणा गरेको मलेसियाले नेपालबाट के कसरी लैजान सकिन्छ भन्ने विषयमा सरकारसँग छलफल गर्ने भएको हो।

यसका लागि मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल बिहीबार साँझ काठमाडौं आइपुगेका छन्। विमानस्थलबाट उनीसहितको टोली सिधै चुच्चेपाटीस्थित होटल हायातमा बसेका छन्।मलेसियाका गृहमन्त्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसहितको टोलीले अहिले १० बजे होटल सोल्टीमा छलफल गर्नेछ।

काठमाडौं उत्रिएलगत्तै गृहमन्त्री सैफुद्दिनले आफ्नो एकमात्रै एजेण्डा श्रमिकको बारेमा छलफल गर्न नेपाल आएको बताएको श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरे जानकारी दिए। मलेसियासँग नेपालले त्यहाँ रहेका श्रमिकको हक अधिकारका बारेमा कुरा उठाउने भएको छ।

समान ज्याला, सामाजिक सुरक्षा, स्वास्थ्य उपचार लगायतका विषयमा गृहमन्त्री सैफुद्दिनसँग छलफल गर्ने एजेण्डा रहेको घिमिरेले बताए। यस्तै, मलेसियाले भित्र्याउने भनेको ५ लाख श्रमिकमा नेपालीलाई पनि प्राथमिकता दिन आग्रह छौं,’ घिमिरेले भने।

खासगरी नेपाली श्रमिक मलेसियामा सुरक्षा गार्डका लागि जाने गरेका छन्। मलेसिया र नेपालबीच यहीँ श्रमिक सुरक्षा गार्डलाई तालिम दिएर मात्रै लाने विषयमा पनि छलफल हुनेछ। मलेसियाले आधारभूत तालिम दिएर मात्रै लाने इच्छा देखाएको छ। नेपालले त्यसका लागि पूर्वाधार तयार गर्न आग्रह गर्ने घिमिरेले बताए।

श्रम मन्त्रालयसँगको टोलीसँग छलफल गरेपछि आजै अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने कार्यतालिका रहेको छ। शनिबार गृहमन्त्रीसहितको टिम बंगलादेश प्रस्थान गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !