१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक, जसपा र नाउपालाई पनि विश्वासमा लिने प्रयास



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । शनिबार बिहान ११ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको हो ।

बैठकमा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपति निर्वाचको विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन माघ २३ गते हुँदै छ । यस्तै निर्वाचन आयोगले फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको छ । दुई निर्वाचनका लागि प्रतिपक्षी दलहरू कसरी अघि बढ्ने भनेर कांग्रेसले तयारी गर्न बैठक बोलाएको हो ।

पुस १० गते तत्कालीन गठबन्धन टुटेर एमाले, माओवादीसहितको सातदलीय गठबन्धन बनेपछि कांग्रेस, नेकपा ९एकीकृत समाजवादी०लगायत दल विपक्षमा छन् । तर, पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा यी दलहरूले पनि प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत हालेका थिए । त्यसपछि भएका सभामुख, उपसभामुख पदको निर्वाचनमा नयाँ गठबन्धन बन्ने आंकलन गरिएको थियो ।

विपक्षमा रहेका दलहरूले फरक ढंगबाट गठबन्धन बनाउने प्रयास गरेका थिए । तर, प्रयास सफल हुन सकेन । राष्ट्रपति निर्वाचनमा भने कांग्रेसले वर्तमान गठबन्धन भत्काएर गोप्य मतदानको फाइदा उठाउँदै राष्ट्रपति निर्वाचनमा आफू सफल हुने तयारी गरिरहेको छ । त्यसकारण सरकारमा नभएका दलहरूसहित सरकारलाई समर्थन दिएको जसपा, नागरिक उन्मुक्ति पार्टीलाई पनि कांग्रेसले विश्वासमा राख्न खोजिरहेको छ । त्यसैको प्रयासमा शनिबारका लागि बैठक बोलाइएको कांग्रेस नेताहरू बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !