७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

एमाले दक्षिणपन्थी र माओवादी ढुलमुले पार्टी



काठमाडौं । आमचुनाव सकिएको झण्डै अढाई महिनापछि नेकपा एकीकृत समाजवादीको समीक्षा बैठक सुरु भएको छ । केन्द्रीय सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठक राखेको एकीकृत समाजवादीले शनिबारदेखि केन्द्रीय कमिटीमा चुनावी समीक्षा सुरु गरेको हो ।

बैठकको पहिलो दिन अध्यक्ष माधवकुमार नेपालले २५ पृष्ठको राजनीतिक दस्तावेज प्रस्तुत गरेका छन् । अध्यक्ष नेपालको दस्तावेजमा मुख्य गरी चार विषय समेटिएका छन् । अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीति, चुनावी समीक्षा र पार्टी संगठनको अवस्थाबारे प्रतिवेदनमार्फत् छलफल खुला गरिएको छ । अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय परिस्थितिलाई चीन र रुसप्रति झुकाव राखेर व्याख्या गरेका छन् । त्यसै आधारमा, पार्टी दृष्टिकोण बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

एमाले दक्षिणपन्थी, माओवादी ढुलमुले

राष्ट्रिय राजनीतिक परिस्थितिबारे एकीकृत समाजवादीले अहिलेको सत्ता समीकरण बनेर अस्थिरतालाई निमन्त्रण दिइएको निष्कर्ष निकालेको छ । ‘यो गठबन्धन प्रगतिशील चरित्रको छैन । यसको वैचारिक धरातल र राजनीतिक गन्तव्य केही पनि स्पष्ट छैन । त्यसैले यो विचारहीन र अराजनीतिक चरित्रको छ । यसलाई वाम–दक्षिणपन्थी गठबन्धन भन्नु उपयुक्त हुन्छ’ नेपालले लेखेका छन् ।

कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ समीकरणबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुलाई एमालेको जितका रुपमा अथ्र्याइएको छ । ‘आजको अवस्था हिजो दुईदुई पटक प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कार्यबाट शुरु भएको प्रतिगमनकारी यात्राकै परिणाम हो’, प्रतिवेदनमा भनिएको छ, ‘तिनै केपी ओली वर्तमाान सत्ता गठबन्धनले निर्माण गरेको राजनीतिक संयन्त्रको प्रमुख बनेका छन् । उनले आफ्नो दृष्टिकोण र उद्देश्य अनुरुप गठबन्धनलाई घोर दक्षिणपन्थी दिशातर्फ लाने प्रयत्न गर्दैछन् ।

कांग्रेसले पूर्वसहमति अनुसार प्रचण्डलाई पहिलो प्रधानमन्त्री नस्वीकार्दा यस्तो परिस्थिति बनेको कारण दिइएको छ । तर विगतमा गठबन्धन गरेकै कारणले प्रचण्डलाई १५ बुँदे सुझावसहित विश्वासको मत दिनुपरेको प्रष्टोक्ति अध्यक्ष नेपालले दिएका छन् । कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिनुको कारण भने सरकारमा सहभागी हुनु नभएर सहमतिको आशा भएको तथ्य प्रतिवेदनमा लुकाइएको छैन ।

पार्टीगत दृष्टिकोणमा भने एकीकृत समाजवादीले माओवादीलाई ढुलमुले र कांग्रेसलाई पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी भनेको छ । तर कांग्रेस संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध शक्ति भएको निष्कर्ष निकालेको एकीकृत समाजवादीले एमालेलाई चाहिँ दक्षिणपन्थी अवसरवादी शक्ति भनेको छ । ‘प्रतिनिधिसभाको दोस्रो ठूलो दलका रुपमा रहेको नेकपा एमाले दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी हो । यसको वर्ग अडान स्पष्ट छैन’, प्रतिवेदनमा उल्लेख छ ।

एमालेप्रति पूरापुर नकारात्मक रहेको एकीकृत समाजवादीले भने माओवादी र प्रचण्डप्रति भने अझैपनि आशा गरेको प्रतिवेदनबाट प्रष्ट हुन्छ । उसले राष्ट्रिय राजनीति, पार्टीगत सहकार्य र एकतामा समेत माओवादीसँगै लचक रहेको सन्देश दिएको छ । पार्टी एकता गर्न राखेको शर्त र अडान अनि प्रचण्डलाई विश्वासको मत दिनुपर्ने तर्कमार्फत् त्यस्तो सन्देश रहेको प्रष्ट हुन्छ ।

प्रतिवेदनको अन्तिम खण्डमा भने संगठनात्मक अवस्था उल्लेख छ । विभिन्न कमिटीमा गरी एक लाख ६६ हजार ४२६ जना नेता रहेको एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन नसकेको पृष्ठभूमिलाई आधार मानेर नयाँ कार्ययोजना बनाउनुपर्ने प्रस्ताव ल्याइएको छ ।

‘आगामी वर्ष फागुनभित्र राष्ट्रिय महाधिवेशन गर्नेगरी संगठनात्मक प्रस्ताव ल्याइएको छ । त्यसअनुसार, आगामी जेठभित्र सबै संगठन र जनसंगठनको महाधिवेशन गर्छौ’, प्रवक्ता खतिवडा भन्छन् । ठूलो र भद्दा कमिटीहरु भएपनि गत चुनावमा पार्टीले एक्लै चुनाव लड्ने परिस्थिति नहुनुलाई एकीकृत समाजवादीले चिन्ताको रुपमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !