१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

बाँदरको उपद्रो बढेपछि बस्ती नै विस्थापित



भोजपुर । बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन् । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ ।
रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय बाँदरको आतङ्क बढेपछि बस्ती छाडेर हिँडेका छन् । बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका हुन् । बाँदरले बस्तीमा पसेर दुुःख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका स्थानीयवासी टेकबहादुर तामाङले बताए ।

दश–बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरि नै बाँदरको आतङ्क बढेको टेम्केमैयुङ–६ कोटका स्थानीय इन्द्रबहादुर राईले बताए । बाँदरका कारण गाउँबस्तीमा बस्न नसक्ने अवस्था आएको स्थानीयको भनाइ छ ।

बाँदर मकैको थाङ्ग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । स्थानीयले स–साना टहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । बाँदर हेरचाह गर्नका लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ । बाँदरलाई यन्त्रउपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाडेको भोजपुर नगरपालिका–५ का स्थानीय धनबहादुर थापाले जानकारी दिए ।

बाँदरले अन्नबाली उत्पादनमा बाधा गरेपछि धेरै मानिसले आफ्नो खेतबारी बाँझो छाडेका छन् । “बाँदरको उपद्रो बढ्दो छ”, उनले भने, “एक घण्टामात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न छिनभरमै खाइदिन्छ । बाँदर नियन्त्रण गर्न नसकेपछि खेतबारी बाँझो छाडेर किनेर खानुपर्ने अवस्था छ । गाउँबस्ती नै आतङ्कित बनेको छ ।

बाँदर आतङ्कका कारण धेरै स्थानीय गाउँ छाड्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका–६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । यहाँका २० भन्दा बढी घर परिवार बाँदरका कारण विस्थापित भएको वडाध्यक्ष नेपालको भनाइ छ ।

बाँदरको व्यवस्थापनका लागि राज्यले उचित खालको कार्यक्रम ल्याउनुपर्ने वडाध्यक्ष नेपालको भनाइ छ । स्थानीयस्तरबाट मात्र गरिएको कोसिसले बाँदरको व्यवस्थापन गर्न नसकिने उनले बताए ।

बाँदरको कारण जिल्लाका अधिकांश भू–भागका स्थानीयले समस्या भोग्दै आएका छन् । धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत दुःख दिने स्थानीयको भनाइ छ । बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्याङ, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !