८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

मोन्टी देसाइ राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त



काठमाडौं । भारतका मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । करिब एक महिना लामो प्रक्रिया पूरा गरी युवा तथा खेलकुद मन्त्रालयले मोन्टीलाई नियुक्त गर्न बाटो खोलेको हो ।

राष्ट्रिय खेलकुद परिषद ९राखेप० संघ संस्था समन्वय शाखा प्रमुख चन्द्र राईले युवा तथा खेलकुद मन्त्रालयले पारित गरी आएको पत्र क्यानलाई पठाइसकिएको जानकारी दिए । ‘प्रारम्भिक सहमति आएको छ । अब सम्झौता गरी औपचारिक रुपमा प्रशिक्षण सुरु गर्न पाउनुहुन्छ । थप केही प्रक्रियाहरु चल्दै गर्नेछन्’, राईले अनलाइनखबरसँग भने ।

औपचारिक नियुक्ति हुन बाँकी रहे पनि अघिल्लो साताको आइतबारदेखि नै मोन्टीले नेपाल क्रिकेट टिमलाई आनौपचारिक प्रशिक्षण गराइरहेका छन् । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ ।

लिग टू मा रहेका ७ टिमबीच अन्तिमबाट दोस्रो स्थानमा रहेको नेपालले आसन्न एकदिवशीय विश्वकप छनोटमा स्थान बनाउन तथा एकदिवशीय मान्यता कायम राख्न शृंखलामा अधिकांश खेल जित्नुपर्ने स्थिति छ ।

नेपाल क्रिकेट संघ क्यानको खेलाडी छनोट समितिले २४ पुसमा राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकका लागि आवेदन आह्वान गरेको थियो । एक साताको समयमा आवेदन दिएका २४ जनामध्येबाट सर्टलिष्टमा परेका ५ जनाको ४ माघमा अन्तर्वार्ता लिइएको थियो ।

आवेदन दिएकामध्ये भारती प्रशिक्षक मोन्टी देशाई, नेपालकै पूर्व प्रशिक्षक अस्ट्रेलियाली डेभ ह्वाटमोर, श्रीलंकाका महान बलर धम्मिका प्रसाद, बंगलादेश क्रिकेट टिमका निवर्तमान प्रमुख प्रशिक्षक दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्याण्ड टी–२० टिमका पूर्व प्रमुख प्रशिक्षक ग्लेन पोकनलसँग अन्तर्वार्ता लिइएको हो ।

क्यानको प्रशिक्षक छनोट समितिले मोन्टीको नाम सिफारिस गरेपछि कार्यसम्पादन समितिले निर्णय गरी ११ माघमा राखेपलाई सहमतिका लागि पठाएको थियो । राखेपले मन्त्रालय पठाए पनि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हालेको हुनाले गत विहीबार प्रधानमन्त्री कार्यालय पुगेको प्रशिक्षक नियुक्ति फाइल शुक्रबार सदर भएर आइतबार राखेप आएको हो ।

उमेरसमूह तथा सिनियर राष्ट्रिय टिममा विभिन्न सल्लाहकार भूमिकामा सन् २०१४ देखि नै नेपाल क्रिकेटलाई नजिकबाट देखेका मोन्टीसँग क्यानले लामो कार्यकालको अपेक्षा राखेको छ ।


प्रतिक्रिया दिनुहोस !