१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाए वर्षेनी ७६ करोड रुपैयाँ बाहिरिने



काठमाडौं । नेपालमा मोटरसाइकल, स्कुटरलगायत दुई पांग्रे सवारीसाधनमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने विषयले बेला वेलामा चर्चा पाउँछ । केही दिनअघि मात्रै दुई पांग्रे सवारीसाधनको पछाडि बस्ने व्यक्तिले पनि हेल्मेट लगाउनुपर्ने कुरा फेरि उठेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसबारेमा सरोकारवाला निकायसँग छलफल अगाडि बढाएको थियो । तर, सबैतिरबाट विरोध भएपछि यसलाई ‘होल्ड’ गरिएको छ । तत्कालका लागि हेल्मेटको महत्वबारे जनचेतना जगाउने भन्दै सरकार पछि हटेको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ७६ करोड ९ लाख ४९ हजार ३७६ रुपैयाँको हेल्मेट नेपालमा आयात भएको थियो । यहाँ सबैभन्दा धेरै भारतबाट हेल्मेट आयात भएको तथ्यांकले देखाउँछ । गत आवमा भारतबाट मात्रै ५४ करोड ९२ लाखको हेल्मेट आयात भएको थियो ।

चीनबाट १४ करोड ९९ लाखको हेल्मेट नेपाल आयात भएको थियो । जापान, कोरिया, प्राान्स, कतार र मलेसियालगायत ३९ देशबाट गत आवमा नेपालमा हेल्मेट आयात भएको देखिन्छ । दुई पांग्रे सवारीसाधनमा पछाडि बस्नेहरुका लागि पनि हेल्मेट अनिवार्य गर्ने हो भने अहिलेको आयात दोब्बर हुनसक्ने अनुमान छ ।

तथ्यांकका अनुसार सन् २०१६र१७ मा ४८ करोड ८७ लाख, २०१७र१८ मा ४७ करोड ४८ लाख, २०१८र१९ मा ५५ करोड ७० लाख, २०१९र२० ४४ करोड ८९ लाख र २०२०र२१ मा ९३ करोडको हेल्मेट आयात भएको छ ।

बजारमा नेपाली हेल्मेट पनि पाइन्छ । तर, बजारमा नेपाली हेल्मेटको खासै माग छैन । व्यापारी पोस्ने उद्देश्यले दुई पांग्रे सवारीसाधनमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याइएको आरोप छ । तर, हेल्मेट लगाउँदा हुने सुरक्षाका विषयमा सरोकारवाला निकायले जनचेतना बढाउन सकेको छैन ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भने दुई पांग्रे सवारीसाधनमा पछाडि बस्नेले पनि हेल्मेट प्रयोग गर्नुपर्ने व्यवस्था छ । सरकारले सोही व्यवस्थालाई कार्यान्वयन गर्ने विषय उठाए पनि लागस् गर्न सकेको छैन ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र भट्ट अधिकांश दुर्घटनामा टाउकोमा असर पर्ने र मृत्युको कारण पनि त्यही हुने भएकाले हेल्मेटको महत्वमाथि जोड दिन्छन् ।

नेपालमा गत वर्ष सडक दुर्घटनामा २ हजार ८०० जनाले ज्यान गुमाएका थिए । तीमध्ये काठमाडौं उपत्यकामा मात्र १९१ जनाको ज्यान गएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरीका अनुसार गत आर्थिक वर्ष भएका मोटरसाइकलरस्कुटर दुर्घटनामा ८२ जनाको ज्यान गएको थियो । तीमध्ये ३१ जना पछाडि बस्ने रहेका थिए । त्यस्तै ४ हजार ४४२ चालक र एक हजार ८१८ जना पछाडि बस्ने घाइते भएको तथ्यांक छ ।

चालू आर्थिक वर्षमा काठमाडौं उपत्यकामा १०३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएकामा मोटरसाइकल तथा स्कुटरमा सवार ५० जना छन् । दुई पांग्रे सवारीसाधनमा ज्यान गुमाउनेमध्ये पछाडि बस्ने ८ जना रहेका छन् । यो अवधिमा २ हजार १२७ जना चालक र ८७९ जना पछाडि बस्ने घाइते भएको उपत्यका ट्राफिकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !