१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

श्रमजीवी अभियन्ता जैशीको प्रश्न : रविजी मिडिया हाउसले ३५ सय पत्रकार लखेट्दा साहु बनेर हिड्ने तपाई नै होइन ?



काठमाडौं । आइतबार आफ्नो पार्टीका मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि आयोजित पत्रकार सम्मेलनमा पूर्व सञ्चारकर्मीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल पुरै तरंगित छ । उनले असंयमित बनेर अझ १२ भाइ भन्दै ठूला भनिएका सञ्चारगृहका सञ्चालक र सम्पादकहरुको नामै किटेर अमर्यादित शब्दसमेत प्रयोग गरी गाली गरेपछि उनका समर्थकहरुले अरुले बोल्न र खोल्न नसकेको सत्य रविले बोलेर साहस देखाएको भनिरहेका छन् भने धेरैजसो सञ्चार संंस्थाहरुले उनको भनाइको खण्डन मात्र गरेका छैनन्, आपत्तिसमेत जनाएका छन् ।

नेपाल पत्रकार महासंघले आइतबार नै लामिछानेको भनाइमा आपत्ति जनाएको छ भने लामिछानेले आफ्ना विरुद्ध लेख्ने सञ्चार संस्था घेर्ने अभिव्यक्ति दिएकोमा त्यहाँ कसैलाई केही भएमा उनले नै त्यसको जिम्मेवारी लिनु पर्ने बताएको छ । नेपाली कांग्रेस निकटको प्रेस युनियनले पनि उनको भनाइको खण्डन गरेको छ ।

उनको भनाईको विरोध र बचाउमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु स्पष्ट विभाजित भएका छन् । रविको समर्थन नगरी लेखिएका भनाइहरुमा हेर्न नसकिने खालका अश्लिल कमेन्टहरुसमेत गरिएका छन् । लामिछानेले नाम लिएका सञ्चार संस्थाका फेसबुक पेज र युट्युव लगायतमा अनफलो र अनसब्स्क्राइबको अभियान चलाइएको छ । जसले गर्दा विदेशमा रहेका धेरै जसो सामाजिक सञ्जालकर्ताहरु लामिछानेको भनाइबाट रमाएको देखिएको छ ।

सञ्चार संस्थामा हुँदा देशको व्यवस्था र राजनीतिक दलका नेताहरुलाई गाली गरेर सिमित समूहबाट वाहवाही कमाएका लामिछानेले अहिले आफू राजनीतिक दलको नेता बनेर सञ्चार संस्था र सञ्चरकर्मीलाई गाली गर्दा पनि उनका समर्थकहरुले हाँ हाँमा हाँ हाँ मिलाएका छन् । लामिछानेले अमेरिकी नागरिकता लिएर नेपाल आएपछि नेपालको नागरिकता लिन अटेर गरेकोमा उनको पद गएको हेक्का उनका समर्थक मात्र होइन, स्वयम लामिछानेमा पनि देखिएको छैन । लामिछानेको ठूलो अहंकारले निम्त्याएको सानो गल्तीले गर्दा उनको पाटीबाट मन्त्री बनेका दुई जना र एक जना राज्यमन्त्रीको पदसमेत गएको छ ।

लामिछानेले सञ्चारकर्मी रहेका बेला के साँच्चिकै गरिब र गरिखानेको पक्षमा काम गरेका थिए ? के उनी टेलिभिजन च्यानलमा चिच्याइ चिच्याइ कराए झैं व्यवहारमा पनि श्रमजीवि मजदुर र पत्रकारको पक्षमा वकालत गर्थे ? काम लगाएका श्रमजीवि मजदुरको पनि पारिवारिक जिम्मेवारी छ, बालबच्चा छन्, समयमा तलब नदिए घरबेटीले निकालि दिन्छ, समयमा तलब दिने व्यवस्था गरौं भन्थे ? काम गर्ने मजदुर खुसी भए काम गराउने संस्थाप्रतिको दायित्व अझै बढ्छ, श्रमजीविलाई लगानी गर्नु भनेको व्यवसायिक प्रवद्र्धन नै हो भनेर कहिल्यै मिडिया सञ्चालकलाई बुझाउने कोसिस गर्थे ? श्रमजीविको सेवा सुविधा र सम्मानजनक व्यवहारले सञ्चार घराना र प्रतिष्ठानको ओज बढ्छ भनेर सुझाउन समय खर्चिन्थे ? लगायतका यावत प्रश्नमा उनका समर्थकहरुले ध्यान दिएको पाइएन । उनको अभिव्यक्ति आएको २४ घण्टाभन्दा बढी समय वितिसक्दा पनि उनको भनाइको पक्ष र विपक्षमा अस्वभाविक र उत्तेजक वादविवाद चलिरहेको छ ।

यस्तैमा श्रमजीवि पत्रकारहरुको हक अधिकारको पक्षमा लामो समयदेखि लागिपरेका एक अभियन्ताले आफैंले लामिछानेको सहयोगको आवश्यकता महसुस गरेको समयमा भएका उनका व्यवहारहरु ध्यानाकर्षण गराई प्रश्न गरेका छन् । सँधै जनताको अधिकार र सुशासनको दुहाइ दिएर नथाक्ने लामिछानेलाई आइतबारको उनको फेरिएको पेशा, फेरिएको बोली र फेरिएको चरित्रभित्रको बर्बराहटपछि श्रमजीवि अभियन्ताका रुपमा चिनिएका श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्षसमेत रहेका जन्मदेव जैशीले तत्कालीन संकट, उनीबाट हुन सक्ने सहयोग र सुभेक्षाको आसा, सम्भावना तथा उनले देखाएको व्यवहारका अनुत्तरित प्रश्नहरु दोहोर्‍याउँदै विगत सुझाएर फेरि प्रश्न गरेका छन् ।

जैशी तिनै व्यक्ति हुन् जो आफैं पनि एक श्रमजीवि पत्रकार बनेर काम गर्दै गर्दा सञ्चार संस्था सञ्चालकबाट महिनौंसम्म तलब नपाएपछि पीडित बनेका थिए । सञ्चार संस्थाले उनलाई राम्रो सेवा सुविधाको प्रलोभन देखाएर अरु श्रमजीविहरुलाई पीडित बनाउन लाग्दा आफ्नो जागिरलाई जोखिममा राखेर श्रमजीवि पत्रकार र मजदुरहरुको पक्षमा आवाज उठाइ संघर्षमा होमिएका थिए ।

एक कार्यकाल नेपाल पत्रकार महासंघको कार्यसमिति सदस्य निर्वाचित भएका उनले श्रमजीवि पत्रकारहरुका हक र हितका लागि देखिने गरी काम गरेका थिए । भुक्तभोगी र उनको बारेमा प्रष्ट बुझ्नेहरुका शब्दमा भन्ने हो भने केही मिडियाका मालिकहरुको मिलेमतोमा उनलाई दोश्रो कार्यकालका लागि महासंघमा आउन दिइएन । जसको कारण देशभरिका श्रमजीवि पत्रकार र मजदुरहरुको पक्षमा गरेको कामलाई निरन्तरता दिन उनको नेतृत्वमा श्रमजीवी पत्रकार संघ नेपाल नामक संस्था स्थापना भइ देशव्यापी रुपमा अभियान चलाइरहेको छ ।

हेरौं जैशीले लामिछानेका बारेमा के भनेका छन्,

रविजी ! साँच्चै तपाई सुशासनको पक्षमा हो ?
हिजो कोरोनाका बेला ३५ सयभन्दा धेरै पत्रकारहरु कथित ठुला भनिएका मिडिया साहुहरुले लखेट्दा हामी आन्दोलनमा थियौं, तर तपाईं मिडिया साहु बन्ने अभियानमा लाग्नुभयो हैन र ?

हामीहरु कान्तिपुर, नागरिक, अन्नपूर्ण, हिमालयन टिभीलगायतका साहुहरुको अत्याचार विरुद्ध लडिरहँदा तपाईं त बोल्न त के, ती साहुविरुद्धको आन्दोलनको समाचार पनि बनाउन मान्नु हुन्नथ्यो । किन कि तपाईं पनि साहु बन्ने अभियानमा हुनुहुन्न्थ्यो हैन र ? मेरै नेतृत्वमा न्युज २४ मा आन्दोलनका लागि पानी पोखरीस्थित अफिसमा जाँदा अनिल जोशीको कान्छो भाईजस्तै भएर हल भइहाल्छ, आन्दोलन गर्न पर्दैन जन्मदेवजीु भन्नुभयो तर महिनौंसम्म हल भएन । तपाईं त जागिरकै मायाले पीडित पत्रकारको पक्षमा बोल्न नि सक्नु भएन किन ?

पार्टी खोल्नुअघि ग्यालेक्सीमा धेरै पत्रकारहरुले पैसा समयमै नपाएको गुनासो श्रमजीवी पत्रकार संघ नेपालमा आएका थिए, भलै अहिले पनि गुनासा आईरहेका छन् । तर तपाईं त श्रमको सम्मान गर्नुको सट्टा गैरजिम्मेवार बन्नुभयो किन ? त्यो बेला ऋषि धमालाले पैसा बार्गेनिङ गरेको कुरा अहिलेसम्म किन लुकाउनुभयो र अहिले भन्नुभयो, त्यही बेला भन्न सक्नुभएन ?

चावहिलस्थित ॐ हस्पिटलमा लापरवाहीका ठुल्ठुला घटना हुँदा, बम पट्केर मृत्युसँग लडिरहेका सख्त घाइतेहरुको उपचारमा राज्यले देखाएको उदासिनता, र हस्पिटलका लापरवाहीबारे समाचारका लागि मैले रविजीलाई धेरै चोटी भनेँ, हुन्छ भन्ने तर समाचार बनाउन तयार हुनुभएन । सुने अनुसार उनका नातेदारको पनि शेयर भएर हो कि बोल्ने आँट नगरेको ?

यी मैले उठाएका प्रश्नहरुको उत्तर दिने साहस छ ? सुशासन मुखले चिच्याएर हैन, आँटले हुने हो । देखाउन सक्नुहुन्छ ? रविजी ! आउनुस्, अहिले पनि साहुहरुविरुद्ध हामी आन्दोलनमा छौं, लडौं । पीडित पत्रकारका पक्षमा बोल्ने आँट छ तपाईंसँग ?


प्रतिक्रिया दिनुहोस !