१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

प्रदेश सरकारबाट एमालेलाई किकआउट गर्ने तयारी, कांग्रेसलाई दुई र समाजवादीको भागमा एक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिएसँगै नेकपा एमालेलाई प्रदेश सरकारहरुबाट हटाउने तयारी छ । राष्ट्रपति निर्वाचनका लागि एक ठाउँमा उभिएका दलहरुले एमालेलाई प्रदेश सरकारबाट बाहिर पठाउने तयारी गरेका हुन् । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी एक ठाउँमा उभिएका थिए।

उनीहरुले लुम्बिनी, गण्डकी र कोशी प्रदेशबाट एमालेलाई हटाएर नयाँ सरकार गठनको तयारी गरेका छन्। कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले तीन वटै प्रदेशमा दलहरुले सरकार गठनका बेला दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने तयारी भएकोको बताउँछन् ।

गत पुस १० गते माओवादी केन्द्रले सरकार गठनका लागि केन्द्रमा गरेको गठबन्धनअनुसार लुम्बिनी, गण्डकी र कोशी प्रदेशको नेतृत्व एमालेले पाएको थियो। अहिले लुम्बिनी प्रदेशमा लीला गिरी, गण्डकी प्रदेशमा खगराज अधिकारी र कोशी प्रदेशमा हिक्मत कार्की एमालेबाट मुख्यमन्त्री छन्।

राष्ट्रपति निर्वाचनका लागि बनेको ९ दलीय गठबन्धनले तीन वटै प्रदेशमा एमालेलाई सरकारबाट बहिर्गमन गराएर आपसमा भागबण्डा गर्ने तयारी गरेको कांग्रेसका लुम्बिनी प्रदेश सभापति पुनले जानकारी दिए। उनले लुम्बिनी र गण्डकीमा कांग्रेस र कोशीमा एकीकृत समाजवादीको नेतृत्वमा सरकार गठन हुने समेत बताए।
उनले सुदूरपश्चिम, कर्णाली, बागमती र मधेश प्रदेशको सरकार भने हेरफेर नहुने बताए।

सुदूरपश्चिममा कांग्रेसका तर्फबाट कमलबहादुर शाह, कर्णालीमा माओवादीका तर्फबाट राजकुमार शर्मा, बागमतीमा माओवादीका तर्फबाट शालिकराम जमकट्टेल र मधेश प्रदेशमा जसपाका तर्फबट सरोज यादव मुख्यमन्त्री छन्।

एमालेले हाल नेतृत्व गरिरहेको लुम्बिनी, गण्डकी र कोशी प्रदेश सरकार ढलेको अवस्थामा सभापति पुनले भनेझैँ नौ दलीय गठबन्धनमा सहमति जुटे लुम्बिनीमा डिल्लीराज चौधरी, गण्डकीमा सुरेन्द्र पाण्डे र कोशीमा राजेन्द्र राई नयाँ मुख्यमन्त्री बन्ने छन्। चौधरी कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दल र पाण्डे गण्डकी प्रदेश संसदीय दलका नेता हुन् भने राई एकीकृत समाजवादीका कोशी प्रदेश संसदीय दलका नेता हुन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय