७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

भारतीय सुरक्षाकर्मीले गरे नेपाली व्यापारीको अपहरण, नेपाल प्रहरी मुखदर्शक



काठमाडौं । भारतीय प्रहरीले साँझ कपिलवस्तु चन्द्रौटाका एक व्यापारीलाई उठाएर भारत पुर्याएका छन् । बेलुकी ५ बजे चन्द्रौटा स्थित अन्सारी डिजल्सका सन्चालक कयुम अन्सारीलाई भारतीय प्रहरी (एसटीएफ) ले अपहरण गरी लगेका हुन् । अन्सारीको परिवारका अनुसार ४ जनाको समूहमा उनीहरु भारतीय सेतो बोलेरो गाडीमा आएका थिए । उनीहरुले लेनदेनसम्बन्धी कुरा गर्नु छ भन्दै गाडीमा हाली हुइँक्याएर लुम्बिनीको ककरहवा नाकाबाट भारततर्फ लगेको सुरक्षा श्रोतले बताएको छ । अन्सारीलाई अहिले बर्डपुरबाट लेनदेन विषयमा पक्राउ गरिएको भन्दै लोटन थाना सिद्धार्थनगरमा राखिएको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाको ५० मीटर अगाडिबाटै भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाल प्रवेश गरी नेपाली व्यापारीलाई लुम्बिनी हुँदै भारत लैजाँदासम्म सुइँकोसमेत पाएका छैनन् । परिवारले तत्काल वडा प्रहरी कार्यालयलाई जानकारी गराएपनि प्रहरीले तत्काल एक्शन नलिएको उनीहरुको गुनासो छ । मंगलबार मात्रै हाजिर भएका प्रहरी निरिक्षक शेखरजंग मल्लले घटना लाई बेवास्ता गर्दा ठूलो बनेको छ । उनले घटनाबारे जिल्लालाई समयमै जानकारी नगराएको र आफूले पनि गम्भिरताका साथ नलिएको प्रहरी श्रोतले जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी मीनबहादुर घलेले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताए ।

लेनदेनसम्बन्धी सामान्य विषय देखाएर नेपालबाट अपहरण गरी भारत लगिएका अन्सारीलाई भारतीय सुरक्षाकर्मीले भारत विरोधी गतिविधिमा संलग्न भएको आशंकामा लगेको बताइन्छ । चन्द्रौटा बजारबाटै व्यापारी अपहरित भएपछि स्थानीय व्यवसायीले सुरक्षामा गम्भीर लापरवाही भएको भन्दै विरोध गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !