८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

धरापमा ७३ वर्षदेखिको अनेरास्ववियुको ल क्याम्पसको विरासत !



काठमाडौं । नेपाल ल क्याम्पसमा २०३६ सालदेखि निरन्तर स्ववियु सभापति जित्दै आएको अनेरास्ववियुलाई यो पटक विरासत जोगाउने चुनौती देखिएको छ । सत्तारुढ गठबन्धन (नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू) ले संयुक्त उम्मेदवार उठाएका छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सभापति र नेविसंघले सचिव पद लिएर तालमेल गरेका छन् ।

एमाले निकट अनेरास्ववियुबाट कैलाश तामाङ स्ववियु सभापतिको उम्मेदवार बनेका छन् । उनी सत्ता गठबन्धनका दलहरुको विद्यार्थी संगठनबीच तालमेल भए पनि अनेरास्ववियुलाई फरक नपर्ने जिकिर गर्छन् । अनेरास्ववियुले स्ववियुको नेतृत्व लिने अर्को आधार भनेको स्ववियु नेतृत्वको लागि उठाएको टिम जातीय, क्षेत्रीय, लिंगीय रुपमा समावेशी हुनु हो उनी भन्छन् ।

त्यस्तै गठबन्धनको तर्फबाट सभापतिको उम्मेदवार बनेका अखिल क्रान्तिकारीका विष्णु ढुंगेल भने यसपटक अनेरास्ववियुको विरासत तोडिइसकेको दाबी गर्छन् । अखिल क्रन्तिकारीको पहलले गर्दा नेपाल ल क्याम्पसमा बीए एलएलबी निरन्तरता भएको र सधैं विद्यार्थीको पक्षमा वकालत गर्दै आइरहेकाले आफूले जित्ने दाबी गर्छन् ।

उनीहरुले २९ बुँदे प्रतिवद्धता पत्रमा छुट्टै कानुन विश्वविद्यालय बनाउन पहल गर्ने, शिक्षक नियुक्तिको प्रकृयामा परिवर्तन गराउन पहल गर्ने लगायत उल्लेख गरेका छन् ।

स्ववियु सभापतिका लागि ६ जना उम्मेदवार मध्ये एकजना मात्रै महिला उम्मेदवार छिन् । अखिल क्रान्तिकारी विप्लवको तर्फबाट रबिना सथशंकरले सभापतिमा उम्मेदवार दिएकी हुन् । महिला विद्यार्थीको संख्या बढी भएको क्याम्पसमा एकमात्र महिला र योग्य भएकीले आफूले जित्ने बताउछिन् ।

दुई हजार २ सय मतदाता रहेको क्याम्पसमा १९ सदस्यीय समितिको लागि निर्वाचन हुनेछ । १६ सयको हाराहारीमा मत खस्ने विद्यार्थी नेताहरुले आंकलन गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !