
काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा मतदान गर्नका लागि बुवाको किरिया बसेका प्रदेश सांसद प्रकाश बराल नयाँ बानेश्वरस्थित संसद भवन पुगेका छन्। गण्डकी प्रदेशका सांसद बरालका बुवा लोकराज बरालको गत फागुन २६ गते निधन भएको थियो। उनी शुक्रबार ९३ चैत० जहाज चढेर पोखराबाट काठमाडौं आएका हुन्।
पोखरा २२ स्थायी घर भएका सांसद बराल नेपाली कांग्रेसबाट प्रदेशसभामा निर्वाचित भएका हुन्। नयाँ उपराष्ट्रपतिका लागि बिहान १० बजेबाट मतदान जारी छ। दिउँसो ३ बजेसम्म हुने मतदानमा सहभागी हुन अन्य सांसदहरू पनि सहभागी हुने क्रम जारी छ।
मतदान सम्पन्न भएलगत्तै गणना सुरु गरिने र साँझ ६ बजेसम्म परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उपराष्ट्रपति चुनावमा पनि ४ जना उम्मेदवार छन्। नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारीको नाम मतपत्रमा छ।