१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

रासायनिक मलको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग



काठमाडौँ । नेकपा एमालेले रासायनिक मलमा किसानलाई गरिएको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ । यसअघि सरकारले फागुन २६ गते रासायनिक मलमा किसानलाई दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । जसले गर्दा किसानलाई रासायनिक मल महँगिएको छ ।

एमालेको कृषि तथा पशुपन्छी विकास विकास विभागले एक विज्ञप्ति जारी गर्दै भनेको छ, सरकारको निर्णयानुसार युरियामा प्रतिकेजी ११, डीएपीमा ७ र पोटासमा ९ रुपैयाँ मूल्य वृद्धि भएको छ । यसको मार नेपाली किसानमा परेको छ । एकातिर भारतबाट ठूलो मात्रामा कृषि उपजको आयात हुने र अर्कोतिर रासायनिक मलको मूल्य वृद्धि गर्दा उत्पादन लागत झन् बढ्न जाने र यसले किसानलाई निरुत्साहित गर्ने एमालेको टिप्पणी छ । अनुदान कटौतीको निर्णयबाट सरकार स्वदेशी उत्पादनलाई निरुत्साहित गरी भारतीय कृषि उपजको व्यापार बढाउन उद्यत रहेको स्पष्ट हुन्छु विज्ञप्तिमा भनिएको छ ।

यसले कृषि उपजमाथिको परनिर्भरता बढाउनेतर्फ सरकार लागिपरेको भन्दै एमालेले तत्काल पुरानै मूल्यमा खरिद गर्ने व्यवस्था मिलाउन माग गरेको छ । हाल अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घट्दै गएको जनाउँदै एमालेले मलको अभाव खेपिरहेका किसानलाई थप समस्यामा नपार्न सरकारसँग माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस !