१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

पत्रकारहरुलाई तलब नदिइ ग्यालेक्सीका साहु फरार ! श्रमजीवी पत्रकार संगठनले थाल्यो आन्दोलन



काठमाडौं । महिनौंदेखि तलब नपाएपछि ग्यालेक्सी फोर–के टेलिभिजनमा कार्यरत पत्रकारहरुको बिजोग भएको छ । ७७ वटा जिल्लाका रिपोर्टरले चार महिनादेखि तलब पाएका छैनन् । यता, केन्द्रीय स्टुडियोमा काम गर्नेहरु तीन महिनादेखि तलबविहिन छन् । ग्यालेक्सीले तलब नदिँदा त्यहाँ कार्यरत पत्रकारहरु भोकभोकै पर्न थालेका छन् ।

तलब नपाएपछि पत्रकारहरुले आन्दोलनको तयारी थालेका छन् भने अध्यक्ष र सञ्चालक बेपत्ता भएको बताइन्छ । टिभीका साहु जिबी राई र प्रमुख कार्यकारी अधिकृत टीकाराम राई एक सातादेखि कार्यालय नआएको श्रमजीवी–पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदैव जैसीले बताए ।

हिजो झण्डै तीन घण्टासम्म ग्यालेक्सीको कार्यालयमा धर्ना बस्दा पनि कोही नभेटिएको उनको भनाइ छ । यता, कैयौं पटक सम्पर्क गर्दा पनि सफल हुन सकेको उनले जानकारी दिए । पत्रकारहरुले आन्दोलनको तयारीस्वरुप हस्ताक्षर संकलन अभियान शुरु गरेका छन् । त्यसपछि क्रमशः कालोपट्टी,धर्ना, घेराउलगायत आन्दोलनका कार्यक्रम अघि बढाइने तय भएको छ ।

संघका अध्यक्ष जन्मदैव जैसीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पत्रकारहरुको तलब तुरुन्त भुक्तानी गर्न माग गरेका छन् । अन्यथा, संघको नेतृत्वमा तालाबन्दी गर्ने चेतावनीसमेत दिइएको छ । यता,उनको स्टाटसमा कमेण्ट गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ग्यालेक्सीको असली साहुलाई समात्नुपर्ने बताएका छन् ।

संघले ग्यालेक्सीमा कार्यरत श्रमजीवी पत्रकारलाई अविलम्ब तलब दिनुपर्ने माग राख्दै गत फागुन २४ गते अध्यक्ष जीवी राईलाई पत्र बुझाएको थियो । तर, अहिलेसम्म पनि उनीहरुले तलब पाउन सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय