८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

चीनको शान्ति प्रस्तावले युद्ध रोकिन सक्छ तर, युक्रेन र पश्चिमी मुलुक यो चाहँदैनन् : पुटिन



काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीनले अघि सारेको शान्ति प्रस्तावले रुस र युक्रेनबीच जारी युद्ध रोकिन सक्ने सम्भावना रहेको तर यसका लागि युक्रेन स्वयं र अन्य पश्चिमी मुलुकहरु तयार नरहेको बताएका छन् ।

रुसी राजधानी मस्कोमा मंगलबार चीनका राष्ट्रपति सी जिङपिन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको भेटवार्तामा पुटिनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘चिनियाँ शान्ति योजनाका धेरै प्रावधानहरूलाई युक्रेनको द्वन्द्व समाधानको आधारको रूपमा लिन सकिन्छ । यसका लागि पश्चिमी मुलुक र किभ तयार हुनुपर्छ’, पुटिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

चीनले गत महिना रुस र युक्रेनबीच जारी युद्ध रोक्न १२बुँदे शान्ति प्रस्ताव अघि सारेको थियो । चीनद्वारा अगाडि सारिएको उक्त प्रस्तावमा शत्रुता बन्द गर्दै शान्ति वार्ता गर्नेलगायतका बुँदाहरु समावेश छन् । यद्यपि सो योजनामा शान्ति वार्ता अगाडि रुसले आफ्ना सेना फिर्ता बोलाउन पर्ने बुँदा समावेश छैन ।

यता युक्रेनले भने वार्ता अगाडि रुसले आफ्ना सबै सेना पूर्ण रुपमा फिर्ता बोलाउनुपर्ने सर्त राखेको छ । जुन सर्त रुसले मान्ने सम्भावना न्यून छ ।

यता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सेना फिर्ता नगराई युद्धविरामको विकल्प खोजिनु प्रभावकारी नहुने धारणा राखेका छन् ।


प्रतिक्रिया दिनुहोस !