४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

वीरगञ्ज भन्सारमा लक्ष्यको आधा मात्रै राजस्व संकलन



वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले फागुन महिनामा लक्ष्यको करिब आधा मात्र राजस्व संकलन गरेको छ । भन्सार विभागले फागुन महिनामा कार्यालयलाई २३ अर्ब ४ करोड ५० लाख २४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएकामा १२ अर्ब ५२ करोड ५ लाख ५८ हजार रुपैयाँ मात्रै संकलन गर्‍यो । कार्यालयले आयात निर्यात गर्दा लिने भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अग्रिम आयकर, स्वास्थ्य जोखिम कर, पूर्वाधार कर, कृषि सुधार शुल्क, सडक मर्मत तथा सुधार, सडक निर्माण तथा सम्भार दस्तुर तथा भन्सार सम्बन्धी अन्य आय संकलन गर्दै आएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९र०८० ९साउन २०७९ देखि असार २०८०० सम्म १ खर्ब ६८ अर्ब २३ करोड ८६ लाख ८५ हजार लक्ष्य लिएको छ ।

जसमध्ये साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा १ खर्ब १ अर्ब ५३ करोड ८० लाख ७६ हजार रुपैयाँ संकलन गरेको छ । यो लक्ष्यको करिब ६० प्रतिशत हो । वीरगञ्ज भन्सार कार्यालयबाट सवारी साधन र त्यसको पाटपूर्जा, पेट्रोलियम पदार्थ, भटमास, सुर्यमुखीको कच्चा तेल, औद्योगिक मेसिनरी तथा कच्चा पदार्थ, तयारी कपडा, कोइला, लुब्रिकेन्ट आयल, धान, प्लाष्टिकका सिट, फलामे तार, पोलिथिन दाना, श्रृंगारका सामान लगायत वस्तु आयात हुन्छ । त्यस्तै स्पोर्टस् सुज (सेन्थेटिक सुज), जुस, जाम, खुदो, आल्मोनियम, छड डण्डी, जमोठ, कपडा, सीआरसिट, हाते झोला, फलामे पत्रु, टोपी तथा तामाका सामान लगायतका वस्तु निकासी हुने गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत रामचन्द्र शर्मा ढकाल सामान आयातमै कमी आउँदा राजश्व संकलनको लक्ष्य पूरा हुन नसकेको बताउँछन् ।

‘सामान निर्यातबाट खासै राजश्व संकलन हुँदैन, आयातकै भर हो । राजश्वमा मुख्य योगदान दिने सवारी साधन आयात उत्साहजनक छैन । खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ, कपडा लगायत सबै मालबस्तुको आयात घटेको छ । त्यसैको असर राजश्व संकलनमा देखिएको हो’, उनले भने । देशकै मुख्य भन्सार नाकामध्येको एक हो वीरगञ्ज । यहाँ वीरगञ्ज भन्सार, एकीकृत सुरक्षा जाँच चौकी र सुख्खा बन्दरगाह भन्सार कार्यालय गरी तीन ठाउँबाट राजश्व संकलन हुन्छ । तर यी भन्सार कार्यालयहरुले संकलन गर्ने राजश्व भने निरन्तर ओरालो लाग्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय