१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई राजीनामा दिन कांग्रेसको आग्रह



पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएको भोलिपल्ट कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् । गण्डकीमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा एमालेका अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । तर राष्ट्रपति निर्वाचनमा केन्द्रमा कांग्रेस, माओवादीसहितका दलको गठबन्धन बनेपछि प्रदेश सरकार अप्ठ्यारोमा परेको छ । शुक्रबार माओवादीले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नभएको पाण्डेले बताए ।

‘अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्गप्रशस्त गर्नु नै प्राकृतिक हुनेछ, प्रदेशको हितमा हुनेछ’, पाण्डेले विज्ञप्तिमा भनेका छन्, ‘कामचलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने र कर्मचारी नियुक्रि सरुवा बढुवा लगायतको काम गर्नु न्यायसंगत मानिदैन ।’यसरी गरेका निर्णयबाट भविष्यमा प्रदेशलाई आर्थिक लगायतको दायित्व सिर्जना भए त्यसको दायित्व नयाँ सरकारले लिन बाध्य नहुने पनि पाण्डेले बताएका छन् । उनले दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न पनि प्रदेश सरकारलाई आग्रह गरेका छन् । गण्डकीमा कांग्रेस–माओवादीसहितका दलको गठबन्धनमा सरकार निर्माण हुँदा कांग्रेस संसदीय दलको नेताको हैसियतमा पाण्डे मुख्यमन्त्रीको प्रबल दाबेदार हुन् । उनले अब प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने पनि बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !