१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

पूर्णबहादुर खड्काको नेतृत्वमा सरकामा मन्त्री पठाउने कांग्रेसको तयारी



काठमाडौं । नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको छ। खड्कालाई उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारी दिएर कांग्रेसले सरकारमा पठाउने तयारी गरेको हो। कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम औपचारिक रुपमा टुंगो लाग्न बाँकी छ। तर पनि खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने आन्तरिक तयारी भएको कांग्रेस स्रोतले जनाएको छ।

सभापति शेरबहादुर देउवानिकट स्रोतका अनुसार खड्कासँगै अर्का उपसभापति धनराज गुरुङ, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय एनपी साउद र सीता गुरुङ मन्त्री बन्ने सूचीमा छन्। खड्काको नेतृत्वमा सरकारमा जान लागेकामध्ये महतको मात्रै मन्त्रालय टुंगिएको छ। देउवाले महतलाई अर्थ मन्त्रालयको जिम्मा दिएर सरकारमा पठाउने तयारी गरेका छन्। सरकारमा पठाउने मन्त्रीको नाम र मन्त्रालय टुंगो गर्न कांग्रेसले मंगलबार केन्द्रीय कार्यसम्पादन समिति बैठक अन्तिम समयमा फेरि सरेको छ।

यो बैठक चैत १६ गते बिहीबार बस्ने तय भएको छ। महत, साउद र गुरुङसँग सोमबार सभापति देउवाले धुम्बाराहीमा एक्ला–एक्लै छलफल गरेका थिए। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि धुम्बाराहीमै उनीहरुको छलफल भएको थियो। सरकार विस्तार तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड विभिन्न दलका शीर्ष नेतासँग छलफल गरिरहेका छन्। उनले मंगलबार आपरान्ह ४ बजे बस्ने १० दलको बैठकबाट मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्।

प्रचण्डले देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सोमबार छलफल गरेर मन्त्रिपरिषद्को टुंगो गर्न मंगलबार १० दलको बैठक बोलाउने निर्णय गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए। कांग्रेस स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले बुधबार कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरुलाई शपथ गराउने तयारी गरेका छन्।

ती नेताका अनुसार पहिलो चरणमा उपसभापति खड्का उपप्रधान तथा रक्षा र प्रवक्ता महतलाई अर्थमन्त्रीको शपथ खुवाउने सम्भावना छ। अन्य मन्त्रीहरुलाई अर्को चरणमा शपथ गराइने छ। तर सरकारमा पठाउने मन्त्रीको नाम र मन्त्रालय टुंगो गर्न कांग्रेसले मंगलबार राखेको बैठक बिहीबार सरेकाले मन्त्रीहरूको सपथ बुधबार नभएर शुक्रबार पुग्ने सम्भावना पनि छ।


प्रतिक्रिया दिनुहोस !