
काठमाडौं । झुटो विवरण पेस गरी नेपाली नागरिकता दिलाउन संलग्न भएको आरोपमा सप्तरीमा जनप्रतिनिधिसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सप्तरी जिल्ला अदालतले बुधबार भारत घर भई राजविराजमा बस्दै आएका भारतीय नागरिक सतिश यादवलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्नेदेखि स्थलगत वस्तुस्थिति (सर्जमिन) मा बसेका वडाध्यक्ष, प्रहरी, स्थानीय, नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृतसहित २६ जनालाई पक्राउ गर्न बुधबार पक्राउ पुर्जी आदेश जारी गरेको हो।
नेपाली नागरिकता लिने भारत घर भएका सतिश यादव र नातीलाई छोरा बनाएर नागरिकता दिलाउने राजविराज नगरपालिका–११ का सूर्यनारायण एक(एक लाख धरौटीमा रिहा भएका हुन्। राजविराज नगरपालिका–११ का सूर्यनारायण यादवले नाती नाता पर्ने भारतीय नागरिक सतिशलाई छोरा बनाई २१ फागुन ०७९ मा प्रशासनबाट नागरिकता दिलाएका थिए।
पक्राउ पुर्जी जारी गरिएकामा राजविराज नगरपालिका– ११ का वडाध्यक्ष उदितनारायण यादव, वडासचिव हरिनारायण यादव, प्रहरी सहायक निरीक्षक महेन्द्र चौधरी, प्रहरी सहायक हवल्दार नारायणकुमार महतो, प्रहरी जवान रामईश्वर मण्डल, नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीका शाखा अधिकृत किशोरकुमार राम, प्रसाशनका नासु सुशील कर्ण, खरिदार सञ्जीवकुमार साह र सुरज नेपालसहित २६ जना छन्। सरकारी वकिल कार्यालय सप्तरीबाट ३१ वैशाखमा नागरिकता प्रकरणमा २८ जनाविरुद्ध मुद्दा चलेको थियो। जसमा २६ जना फरार रहेको भनिएको थियो।