२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मियाँको टोपबहादुर कनेक्सन



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि सिंहदरबारस्थित ऊर्जा मन्त्रालयबाट नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । मियाँले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई आफ्नो सरकारी नम्बर प्लेटको गाडी दिएको प्रहरी अनुसन्धानमा देखिएको छ। उनको गाडीलाई गिरोहले नम्बर प्लेट फेरेर नक्कली शरणार्थीलाई बोक्न प्रयोग गरेको प्रहरीले बताएको छ। प्रहरीले बि/एबी १४०५ नम्बरको सेतो नम्बर प्लेटको मन्त्रालयको गाडी बरामद गरेको हो। अहिले सो गाडीमा इम्बोस्ड नम्बर प्लेट राखिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मानिसहरूसँग पैसा उठाउने र ठगी गर्ने गिरोहले गृह मन्त्रालयको यो गाडी पटकपटक प्रयोग गरेको प्रहरी स्रोतले बतायो।

मियाँ २०७५ सालदेखि हज समितिका अध्यक्ष छन्। यही प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीसँगको निकटताका कारण मियाँ हज समितिका अध्यक्ष बनेका हुन्। भारतबाट सामान ल्याउने र बेच्ने व्यवसायमा आवद्ध मियाँ रायमाझीसँगको निकटताकै कारण माओवादी छोडेर एमाले गएका थिए। २०७५ पुसमा रायमाझीको सिफारिसमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मियाँलाई हज समितिको अध्यक्ष बनाएका थिए।

त्यसयता उनी लगातार हज समितिका अध्यक्ष छन्। बालकृष्ण खाण गृहमन्त्री भएको बेलामा समेत उनको कार्यकाल थपिएको थियो। बुटवलमा स्थायी बसोबास रहेका मियाँले राजनीतिक प्रभावकै आधारमा पटक पटक नियुक्ति पाएका हुन्। प्रहरी स्रोतले पनि मियाँ रायमाझीसँग निकट रहेको बतायो। उनले रायमाझीकै आडमा लाभको पद लिँदै आएको प्रहरी स्रोतको दाबी छ। ‘यिनी सुरूदेखि टोपबहादुरका मान्छे हुन्। पछि सबैसँग सम्बन्ध भयो। शरणार्थी प्रकरणमा सुरूदेखि नै संलग्न रहेको देखिन्छ। उतै अर्घाखाँचीकै साथी साथी हुन्,’ प्रहरी स्रोतले भन्यो।

यो प्रकरणमा गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ र सन्देश शर्माले सुरूमा नक्कली भुटानी शरणार्थी बनाउने योजना बनाएका थिए। पक्राउ परेका गिरोहका सदस्यहरूले रायमाझीलाई तीन करोड, राईलाई ५ करोड रुपैयाँ बुझाएको बयान दिएका छन्। तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक थापालाई एक करोड रुपैयाँ दिएको पनि उनीहरूले प्रहरीलाई बताएका छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय