
काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने काममा ‘सहयोग गर्न’ कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले बिचौलियाबाट बुझेको एक करोड फिर्ता दिएको प्रमाण प्रहरीले फेला पारेको छ । पूर्वसांसद आङटावा शेर्पामार्फत उनले सो रकम फिर्ता दिएका थिए । तर, शेर्पाले ३० लाख मात्रै फिर्ता गरेर ७० लाख आफैँ राखेको अनुसन्धानबाट खुलेको छ ।
रामेछापका कांग्रेस नेता शेर्पाले चैतको तेस्रो साता अहिले हिरासतमा रहेका बिचौलिया सानु भण्डारीका दाइ राजु भण्डारीलाई ३० लाख फिर्ता गरेका थिए । त्यसको व्यक्तिगत भर्पाई नै प्रहरीले बरामद गरेको छ । राजुले पनि त्यसलाई प्रमाणित गरिदिएको स्रोत बताउँछ ।
शेर्पाले खाणका पिए नरेन्द्र केसीमार्फत एक करोड लिएका थिए । आफूले पनि पैसा उठाएर खाणलाई बुझाएको र त्यो पैसा पीडितलाई फिर्ता गर्न भन्दै उनले ७० लाख आफूले नै राखेको उनले प्रहरी सोधपुछमा बताएका छन् । तर, सरकारी वकिल कार्यालयमा गरेको लिखित बयानमा भने लेनदेनका कुरालाई उनले अस्वीकार गरेका छन् ।
गत १२ चैतमा प्रहरीले सानु भण्डारी, केशव दुलाल र टंक गुरुङलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । सर्वसाधारणबाट उठाएको पैसा उच्चपदस्थलाई बुझाएको भन्दै उनीहरूले फिर्ता गर्न नसक्ने प्रहरी सोधपुछमा बताएका थिए । आफ्नो समेत संलग्नता खुल्ने संकेत पाएपछि खाणले पैसा फिर्ता गरेर चुप लगाउने रणनीति बनाए ।
त्यसका लागि उनले गत १८ चैतमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बिचौलिया सानु भण्डारीलाई भेट्न शेर्पालाई पठाएका थिए । त्यही छलफलपछि शेर्पाले सानुका दाई राजुलाई पैसा फिर्ता गरेका हुन् । तर, बयानका क्रममा सानुले जोगाएन्, पैसा फिर्ता गरेको पोलसमेत खोलिदिएपछि खाण पनि अनुसन्धानमा तानिएका हुन् ।
हाल खाणसहित आङटावा र नरेन्द्र केसी पनि प्रहरी हिरासतमै छन् । खाणकै कार्यकालमा गृह मन्त्रालयमा भुटानी शरणार्थीसम्बन्धी प्रतिवेदन किर्ते गरेर आठ सय ७५ जनाको नाम थपिएको पुष्टि भइसकेको छ । साथै, बिचौलियाकै स्वार्थअनुसार उनले पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले बनाएको प्रतिवेदन कार्यान्वयनमा लैजानेदेखि विभिन्न समिति गठन गरी गैरशरणार्थीलाई शरणार्थीको सूचीमा पार्ने प्रयास गरेका थिए । त्यसका लागि उनले एक करोड २४ लाख लिएको बिचौलियाहरूको बयान छ ।
पैसा लिएर काम पनि नगरिदिएको र उल्टै थुनामा परेपछि बिचौलियाले नै यो प्रकरण बाहिर ल्याएका हुन् । प्रहरीमा उजुरी परेपछि केही व्यक्तिले पहिले नै पैसा फिर्ता गरेर सहमति गरिसकेका थिए । करिब एक अर्बको ठगी भएको बताइ पनि प्रहरीमा करिब २३ करोड ठगीको मात्र उजुरी परेको छ ।
पूर्वसांसद आङटावाले त कार्यालय नै खोलेर सर्वसाधारणलाई फाराम फराई पैसा उठाएका थिए । तर, केहीको रकम फिर्ता गरिसकेकाले उनका पीडितहरू प्रहरीमा पुगेका छैनन् । मतियारका रूपमा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । शंकित थप व्यक्तिमाथि दोस्रो चरणमा अनुसन्धान गरी पूरक अभियोग लैजाने तयारी प्रहरीको छ । करिब एक दर्जन व्यक्तिलाई फरार अभियुक्तका रूपमा मुद्दा दायर हुने सम्भावना रहेको प्रहरी स्रोत बताउँछ ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, गृह मन्त्रालयका पूर्वसुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत उच्चपदस्थलाई थुनामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताए ।
राज्य संयन्त्रकै मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने भन्दै भएको संगठित ठगी मुद्दाको अनुसन्धान प्रहरीले आइतबार टुंग्याउने भएको छ । शुक्रबार बयान नै नसकिएपछि अनुसन्धान लम्बिएको हो ।
१६ जना पक्राउ परेकोमा दुईजनाको बयान नै हुन सकेको छैन । बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र गृह मन्त्रालयअन्तर्गतको हज समितिका अध्यक्ष शमशेर मियाँको शुक्रबार बयान भएन । शनिबार बयान सकेर प्रहरीले आइतबार रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । संगठित अपराधको ६० दिने हदम्यादअनुसार १० जेठभित्र अभियोगपत्र अदालतमा दर्ता गरिसक्नुपर्ने हुन्छ । तर, समय अपुग हुँदा कतिपय विषयमा अनुसन्धान अधुरै छ ।