
सिरहा । सिरहाका मिटरब्याजी साहुहरू संगठित भएका छन्। संगठित भएर उनीहरूले ऋणीलाई लगानी गरेको आफ्नो सम्पत्ति साउँ ब्याजसहित फिर्ताको लागि सहयोग गर्न सरकारसँग माग गरेका छन्। आफूहरूले गाउँ घरमा गरेको लगानी कानुनअनुसार ब्याजसहित फिर्ता गर्न माग गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापन पत्रसमेत बुझाएका छन्। ऋण नतिर्ने गलत सोच भएका केही ऋणीहरूको कारण गाउँघरमा विभिन्न घरायसी कामको लागि लगानी गरेको रकम डुब्ने अवस्था सिर्जना भएको भन्दै उनीहरूले ‘पीडित साहु संघर्ष समिति’ समेत गठन गरेका छन्।
खाएको ऋण नतिर्ने सोच भएका केही व्यक्तिहरूको आतंक फैलाएको उनीहरूको आरोप छ। सबै साहुहरूलाई मिटरब्याजी भन्दै एउटै डालोमा हालेर आतंक मञ्चाउने काम भइरहेको संघर्ष समितिका अध्यक्ष धनेश्वर यादवले बताए। ‘खाएको ऋण नतिर्ने मनसाय भएका गलत ब्यक्तिहरूको कारण सबै साहुहरूलाई मिटरब्याजीको रुपमा कारबाही गरिन्छ भन्ने किसिमले अफवाह फैलाएर भ्रम सिर्जना गर्ने काम भइरहेको छ,’ सिरहाका साहुहरू आवद्ध संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमा बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘ऋणीहरूले साहुहरूलाई मिटरब्याजी भनी प्रहरी प्रशासनमा उजुरी दिई विभिन्न किसिमका दबाब, डर, धाक देखाउने काम भइरहेको छ। उक्त आतंक अविलम्ब बन्द गरियोस्।’
संघर्ष समितिले प्रधानमन्त्री कार्यालय, प्रदेश मुख्यमन्त्री कार्यालय, गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सिरहाका १७ वटै स्थानीय तहलाई ज्ञापन पत्र बोधार्थ पठाएका छन्। जसमा मिटरब्याजको नाममा भइरहेको आतंक बन्द गर्न, मिटरब्याज सम्बन्धि उजुरी बिना प्रमाण दर्ता नगर्न, प्रहरी प्रशासनको दमन बन्द गर्न, जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका उजुरीहरू सम्बन्धित स्थानीय तहमा छलफलको लागि पेश गर्न, लगानी भएको कर्जाको नियमपूर्वक साँवा र ब्याज उपलब्ध गराउन, लेनदेन व्यवहारलाई मर्यादित र सहज बनाउन माग गरिएको छ।
सिरहाका साहुहरूले मिटरब्याजको आतंकले गाउँ–घरमा तत्काल आवश्यक पर्दा लगानी गर्ने वातावरण विगारेको पनि बताएका छन्। अध्यक्ष यादवले अब मर्दा पर्दा, विवाह बटुलको लागि छिमेकीलाई नै पैसा जरुरी भयो भने पनि दिने अवस्था नरहेको बताए। ‘अहिले सरकार जसरी एकतर्फी कुरा सुनिरहेको छ, त्यो सरासर गलत छ। हामीले गाउँ घरमा मर्दा पर्दा छिमेकी वा चिनजानकालाई ऋण दिएका छौं, हाम्रो सावाँ र नियम अनुसारको व्याजसहित फिर्ता गर्ने वातावरण सरकारले बनाउनु पर्छ,’ उनले भने।