
काठमाडौं । काठमाडौं र धरानका मेयरले जनताको पक्षमा काम गरेको भन्दै प्रशंसा भइरहेको बेला बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित मेयर देवकुमार नेपाली भने स्थानीयको करोडौं रकम हिनामिना गरेर सम्पर्कबिहीन भएका छन् । माओवादी केन्द्रका चन्द्रलाल अर्याललाई पराजित गर्दै मेयर निर्वाचित नेपाली शुक्रबारदेखि सम्पर्कबिहीन भएको पाइएको छ । स्थानीयको करोडौं रकम हिनामिना गरेको आशंकामा उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र सीमा नाकामा निगरानी बढाउन प्रहरीलाई सूचित गरिएको छ ।
नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थामा तरलता नभएको भन्दै वैशाख ९ गते सूचना टाँसेर बन्द गरिएको थियो । तर, नेपालीको कार्यालयमै सयौं मानिसहरु भुक्तानी माग्न भन्दै जाने गरेपछि उनले भेटघाट नै बन्द गरेको बताइन्छ । आफ्नो सम्पत्ति बेचेर तिर्ने वाँचा गरेका मेयर गायब भएपछि स्थानीयलाई तनाव भएको छ । सहकारीका वचतकर्ताले ५ हजारका दरले रकम फिर्ता पाएपनि हिनामिना ठूलो मात्रामा भएको आशंका गरिएको छ । नेपालीले कसैलाई नभनी कार्यबहाकको जिम्मा उपप्रमुख धनबहादुर कायतलाई तोकेर भागेको देखिन्छ ।