२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

राष्ट्रपति/उपराष्ट्रपति चुनावमा जाँदा लिएको भत्ता फिर्ता गर्ने सांसद भाटको घोषणा



कैलाली। सुदूरपश्चिम प्रदेशसभा सदस्य ओम विक्रम भाट सरलले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको समयमा काठमाडौँ गए बापत बुझेको भत्ता रकम फिर्ता गर्ने भएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा आफूले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको समयमा बुझेको दैनिक तथा भ्रमण भत्ता फिर्ता गर्ने जनाएका हुन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले विगत पाँच वर्षदेखि गैर कानूनी रूपमा दैनिक तथा भ्रमण बुझेको विशेष रिपोर्ट प्रकाशित भएको थियो । खोज पत्रकारिता केन्द्रको सहयोगमा नेपाल प्रेसमा प्रकाशित उक्त रिपोर्ट पछि सांसद भाटले आफूले पाएको भत्ता फिर्ता गर्ने बताएका हुन् ।

उनले यस अघिबाटै यस्तो सुविधा लिइरहेको उल्लेख गर्दै उनले कानुनी, वैधानिक व्यवस्थाका विषयमा धेरै जानकारी नलिएको स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको समयमा प्रदेश सभा सदस्यहरूले यातायात खर्च र दैनिक भत्ता दिने विगतको प्रणाली रहेछ । सांसदहरूलाई टिकट बोर्डिङ पास दिन भनिएको थियो सोही अनुसार मैले पनि दिएको हो । यो विषयमा सबै कानुनी, वैधानिक व्यवस्था के छ भन्ने कुरा हेरिएन किनभने प्रदेशसभाले यो व्यवस्था छ भनेपछि सोही बमोजिम कागजपत्र बुझाइयो ।’

सुदूरपश्चिम प्रदेशका सभामुख उपसभामुख सहित ४९ जना प्रदेश सभा सदस्यहरूले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका भ्रमण आदेश स्वीकृत गराए प्रतिव्यक्ति ५३ हजार सम्म बुझेका छन् ।

‘प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५’ अनुसार प्रदेशकै कामका लागि हिँडेका सदस्यले समेत दैनिक भत्ता र भ्रमण भत्ताबाहेक अन्य सुविधा पाउने व्यवस्था छैन ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा गएका सभामुख उपसभामुख लगायतका सांसदहरूले दैनिक तथा भ्रमण भत्ताबाहेक हवाई जहाजको टिकट र १ हजार फुटकर खर्च पनि बुझेका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मात्रै प्रदेश सभा सचिवालयले १६ लाख बढी रकम दैनिक तथा भ्रमण भत्ता, विमानको टिकट र फुटकर खर्चमा खर्च गरेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय