८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

पशुपतिमा २ किलो सुनले जलहरीको बेल्ट बनाएको तथ्यांक भेटिएन, बिल पनि छैन



काठमाडौं । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले २०७७ फागुनमा पशुपतिमा सुनको जलहरी राख्दा जलहरीको बेल्ट राखेको तथ्यांक र बिल नभेटिएको बताएका छन्। शुक्रबार कुरा गर्दै उनले फागुन ११ गते १०६.८२ किलो सुनको जलप लगाइएको बताए। ‘२ किलो जतिको बेल्ट बनाएर एक सातापछि राखिएको थियो। कहिले राखियो ठ्याक्कै मिति थाहा भएन,’ उनले भने,‘पछि बेल्ट बनाएर राखिएको तथ्यांक भएन। त्यसको बिल पनि भेटिएन।’

पशुपतिको सुनको जलहरीका विषय अहिले संसदमा प्रवेश गरेको छ। जेठ १० गतेको संसद बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपति सुनको जलहरी राख्ने भनेर पित्तल राखेर भ्रष्टाचार भएको बताएका थिए। उनको उक्त अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै एमाले सांसदहरूले शुक्रबारको बैठक अवरूद्ध गरेका हुन्। सरकारले पशुपतिको जलहरी सुनको हो कि पित्तल भन्ने छानबिन गर्नुपर्ने, सांसद दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने र उनले माफी माग्नु पर्ने एमालेको माग छ।

ओली नेतृत्वको सरकार हुँदा २०७७ फागुन १२ गते पशुपतिमा ९६ किलोको जलहरी राखिएको थियो। जलहरीमा १२ किलो सुन पछि थप्ने भनिएको थियो। पशुपतिमा सुनको जलहरी राखिएकै दिन सर्वोच्च अदालतले पुरातात्विक सम्पदामा कुनै पनि चिज चलाउन वा थपघट गर्न नपाइने कानुन भएकाले चरण(चरणमा उक्त काम रोक्न अन्तरिम आदेश दिएको थियो। विरोधका बाबजुद् तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी अनावरण गरेकी थिइन्। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडालाई सोध्यौं। उनले त्यतिबेला एक दुई दिनको फरकमा १०८ किलो सुनकै जलहरी पशुपतिमा राखिएको बताए।

जलहरीमा पित्तल नमिसाएको उनको दाबी छ। खतिवडाले १ सय ८ किलो सुन राष्ट्र बैंकबाट किनेर ल्याइएको बताए। ‘बैंकले मिसाएको भए थाहा भएन। विश्वास नलागे निकालेर जाँचे हुन्छ,’ उनले भने। जलहरीलाई बलियो बनाउन एक किलो चाँदी र आधा किलो तामा मिसाइएको उनले बताए। तर यो विषयमा महालेखा परीक्षकको प्रतिवेदनमा समेत प्रश्न उठाइएको थियो।

महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ मा ‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रू ८० करोड ११ हजारमा खरिद गरेको र विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको’ उल्लेख छ। निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ।

‘रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रू। ७ करोड ८६ लाख ४६ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ। मन्दिरका चार जना मुख्य पूजारीले मात्र छोएर राख्न मिल्ने जलहरी सर्वसाधारणले सजिलै देख्दैनन्। जुन ठाउँमा उभिएर सर्वसाधारणले पशुपति दर्शन गर्छन्, त्यहाँबाट जलहरी देखिँदैन। पशुपतिमा पश्चिमी ढोका मात्र भक्तजनका लागि खुला हुन्छ। तीर्थालुले ढोकामै गएर आफैंले फूलपाती चढाउन पाउँदैनन्। त्यहाँ खटिएका कर्मचारीले दुई मिटर वरैबाट फूलपाती मन्दिरको ढोकामा छुवाइदिन्छन्, जल चढाइदिन्छन्। भक्तजनको भीडभाडबीच कतिले त शिवलिंगको राम्ररी दर्शन गर्न पनि पाएका हुँदैनन्, यस्तोमा जलहरी देख्नु टाढाको कुरा। कसैले घाँटी तन्काएर हेर्‍यो भने मात्र मुश्किलले जलहरी देखिन्छ। पूजारीहरूका अनुसार शिवलिंगमा निरन्तर चढाइने दूध, जल, मह पोखिँदै जाने ठाउँमा राखिने तामा, चाँदी वा सुनको पातो नै जलहरी हो।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय