१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

गणतन्त्र दिवस समारोहमा राप्रपाबाट निर्वाचित सभामुख अनुपस्थित



हेटौँडा । १६औं गणतन्त्र दिवस आज देशभर विभिन्न कार्याक्रम गरी मनाइँदै छ। यसै अवसरमा बागमती प्रदेश सरकारले पनि आज भव्य समारोहका बीच गणतन्त्र दिवस मनायो। प्रदेश प्रमुख यादवचन्द्र शर्मा प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गरेका थिए भने विशेष अतिथिका रुपमा प्रदेशसभाका सभामुख भुवनकुमार पाठकलाई आमन्त्रण गरिएको थियो।

जसका लागि मञ्चमा प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखका लागि लहरै तीनवटा कुर्सी राखिएका थिए। तर कार्यक्रममा सभामुख पाठक उपस्थित नै भएनन्। जसका कारण एउटा आसन खाली रहेकै अवस्थामा कार्यक्रम सम्पन्न भयो।

सभामुख पाठक राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट प्रदेश सांसद पदमा निर्वाचित भएका थिए। उनी गणतन्त्र दिवसको समारोहमा उपस्थित नहुनु गैरजिम्मेवारीपन भएको भनी सत्तापक्षका सांसदहरुले आलोचना गरेका छन्। प्रजातन्त्र दिवस मनाउने राप्रपा गणतन्त्रको कार्यक्रममा उपस्थित नभएको भन्दै सभामुखको सर्वत्र आलोचना भइरहेको छ। सभामुख वा उपसभामुख पदमा निर्वाचित भइसकेपछि सम्बन्धित सांसदले राजनीतिक दलको संलग्नताबाट अलग रहनुपर्छ।

तर सभामुख पाठकले भने आज आफ्नी श्रीमतीको आँखा उपचारका लागि अस्पताल जानुपरेकाले गणतन्त्र दिवसको कार्यक्रममा आउन नपाएको दाबी गरेका छन्।


प्रतिक्रिया दिनुहोस !