१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

पोखरा महानगरपालिकाको एकै वर्षमा खाजा खर्च साढे २ करोड



पोखरा । पोखरा महानगरपालिकाले एक आर्थिक वर्षमा खाना र खाजा खर्चमा मात्रै करिब साढे २ करोड सकेको पाइएको छ । महानगर तथा महानगरअन्तर्गतका कार्यालयले अघिल्लो आर्थिक वर्षमा २ करोड ३९ लाख १३ हजार रुपैयाँ खाना खाजामा खर्च गरेको महालेखापरीक्षकले औंल्याएको छ । यो खर्च नयाँ भने होइन । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा पनि महानगरले खाना खाजामा २ करोड ४० लाख १५ हजार रुपैयाँ खर्च गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ । तर, महानगरले विविध तथा खाना खाजामा अचाक्ली खर्च गरेको पाइएको हो ।

महालेखापरीक्षकले पोखरा महानगरपालिकाका कर्मचारीले नियमविपरीत आवास सुविधादेखि महँगी भत्ता लिएको देखाएको छ । कानूनमै नभएको आवास सुविधा लिएर कर्मचारीले महानगरलाई व्ययभार थपेको महालेखाले औंल्याएको हो । कर्मचारीहरुको व्यक्तिगत प्रयोजनका लागि आवासको सुविधा उपलब्ध गराउने संघ, प्रदेश र स्थानीय तहमा कुनै कानूनी व्यवस्था छैन । महानगरमा करारमा कार्यरत कर्मचारीलाई नियमविपरीत महँगी भत्ता दिएको पाइएको छ । अघिल्लो आर्थिक वर्षमा महानगरले कार्यरत २०७ जना करार कर्मचारीलाई अर्थ मन्त्रालयको परिपत्रविपरीत ५० लाख ६४ हजार रुपैयाँ महँगी भत्ता उपलब्ध गराएको हो । अर्थ मन्त्रालयको पत्र संख्या ३६५ चलानी नम्बर १७१९ बाट विभिन्न निकायको स्वीकृत दरबन्दीमा करारमा कार्यरत कर्मचारीहरुलाई मासिक रुपमा महँगी भत्ता दिने कुनै पनि कानूनी व्यवस्था नभएको परिपत्र गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !