१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

दरबार हत्याकाण्ड र २०४६ पछिका सबै उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन गछौँ : प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्याउने बताएका छन् । मंगलबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरुको अुनसन्धान गरी निचोडमा पुग्ने प्रतिबद्धता जनाइ ।

उनले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहको बारेमा खोजिनीति गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निस्कर्षमा पुर्याउनुपर्ने र यसबारेका नागरिकका शंकाहरुको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

‘मैले सदनमा पनि भनेको छु– अब भ्रष्टाचारका सबै फाइलहरु खोलिनेछन् । क्रमशः खुल्छन् । खुलाइन्छन्,’ प्रधानमन्त्री दाहालले भने, ‘मैले भनेको छु– २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पती विवरणहको बारेमा खोजिनीति गरिन्छ । ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजिनीति गरिन्छ । ठूलाठूला भयानक हत्याकाण्डहरु छन्, ती हत्याकाण्डहरुको खोजिनीति गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली जनताको मनमा धेरै ठूलाठूला शंकाहरु छन् । के भएको हो भन्ने कुराको सत्यतथ्य आएको छैन । यी सबैकुराहरु पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ– अब केही हुन्छ र हुनसक्छ भनेर ।’

प्रधानमन्त्री दाहालले बुधबारबाट आफू भारत भ्रमणमा जान लागेको बताउँदै सो क्रममा विद्युतको बजार क्षमताको ग्यारेन्टी हुनेगरी भारतसँग छलफल गर्ने समेत बताए । उनले भारत भ्रमणमा सीमा–नाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने बताए । उनले आफूले देशमा केही गर्न चाहेको भन्दै अहिले युवा अवस्थाको भन्दा बढी खटेर काम गरिरहेको दाबी समेत गरे ।


प्रतिक्रिया दिनुहोस !